नेपालका तीन क्रिकेटरले खेल्ने ग्लोबल टी–२० लिगमा पाकिस्तानका खेलाडीले खेल्न नपाउने
काठमाडौंँ । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले बाबर आजम, मोहम्मद रिजवान र शाहीन शाह अफ्रिदीलाई ग्लोबल टी–२० क्यानडा लिगमा भाग लिनका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) दिएको छैन । ग्लोबल टी–२० क्यानडा लिग जुलाई २५ देखि अगस्ट ११ सम्म क्यानडाको ओन्टारियोमा हुदै छ । लिगको तालिका पाकिस्तानको कुनै पनि सिरिज वा खेलसँग भिड्ने छैन ।
यति हुँदाहुँदै पनि खेलाडीले एनओसी पाउने छैनन् । यसअघि नसीम शाहलाई पनि 'द हन्ड्रेड' मा सहभागी हुनएनओसी दिइएको थिएन । बोर्डले अगस्ट २०२४ देखि मार्च २०२५ सम्म पाकिस्तानको व्यस्त क्रिकेट क्यालेन्डरलाई ध्यानमा राख्दै यो निर्णय लिएको हो ।
पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले एक विज्ञप्ति जारी गर्दै ग्लोबल टी–२० प्रतियोगिताका लागि बाबर आजम, मोहम्मद रिजवान र शाहीन अफ्रिदीसहित अन्य खेलाडीबाट एनओसीको अनुरोध प्राप्त भएको जनाएको छ । बोर्डले अगस्ट २०२४ देखि मार्च २०२५ सम्म पाकिस्तानको व्यस्त क्रिकेट क्यालेन्डरलाई ध्यानमा राख्दै र तीनै खेलाडीका साथै राष्ट्रिय छनोट समितिसँग परामर्श गरेपछि तीनै खेलाडीको अनुरोध अस्वीकार गर्ने निर्णय गरेको हो ।
तीनै जना टेस्ट। ओडीआइ र टी–२० फर्म्याटका क्रिकेटर हुन् र आगामी आठ महिनामा उनीहरूको सेवा आवश्यक पर्ने अपेक्षा गरिएको छ जसमा पाकिस्तानले नौ टेस्ट, १४ एकदिवसीय र नौ टी–२० अन्तर्राष्ट्रिय खेल्नेछ। सन् २०२४ को अगष्टदेखि सन् २०२५ को मार्चसम्म पाकिस्तानले आइसिसी विश्व टेस्ट च्याम्पियनसिप र अर्को वर्ष हुने आइसिसी च्याम्पियन्स ट्रफी२०२५ मा ९ खेल खेल्नेछ ।
त्यस्तै, आसिफ अली, इफ्तिखार अहमद, मोहम्मद आमिर र मोहम्मद नवाजलाई एनओसी दिइएको छ । पाकिस्तान बोर्डले आसिफ अली, इफ्तिखार अहमद, मोहम्मद आमिर र मोहम्मद नवाजलाई एनओसी स्वीकृत गरेको छ । चारै जना खेलाडी मुख्यतया सेतो बलका क्रिकेटर हुन् ।
ग्लोबल टी–२० मा नेपालका तीन क्रिकेटरले खेल्ने भएका छन् । जसमा कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरी हुन् ।
रोहितले टोरन्टो नेशनलबाट खेल्ने छन् भने सन्दीप र दिपेन्द्रले भ्यान्कोभर नाइटसबाट खेल्ने भएका हुन् ।
गत सिजनमा सन्दीप सुर्रे जागुअर्स र दिपेन्द्र मोन्टरियल टाइगर्सबाट खेलेका थिए ।
यो ग्लोबल टी–२० को चौथो सिजन हो । यस अघि सन् २०१८ मा भ्यान्कोभर नाइट्स, २०१९ मा विनिपेग ह्वाक्स र २०२३ मा मोन्टरियल टाइगर्सले उपाधि जितेका थिए ।


टिप्पणी लेख्नुहोस्