इंग्ल्यान्डका यी तीव्र गति बलरले पूरा गरे १ हजार विकेट !
काठमाडौंँ । वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टको तेस्रो दिन आयोजक इंग्ल्यान्डका तीव्र गतिका बलर क्रिस वोक्सले विशेष उपलब्धि हासिल गरेका छन् । क्रिस वोक्सले ३५ वर्षको उमेरमा आफ्नो करियरमा १००० विकेटको आँकडा पार गरेका छन्। वोक्सले आफ्नो करियरको ५० औं टेस्ट म्याचमा यो उपलब्धि हासिल गरेका हुन् । वोक्सले प्रथम श्रेणी क्रिकेटमा ५७७ विकेट लिएका छन् । यसबाहेक लिस्ट 'ए' मा २५१ र टी–२० क्रिकेटमा १७२ विकेट लिदै १००० विकेट पुरा गरेका छन् । वेस्ट इन्डिजविरुद्धको दोस्रो खेलमा क्रिस वोक्सले चार विकेट लिएका थिए ।
वोक्स लामो समयदेखि इङ्ल्यान्डका प्रमुख तीव्र गतिका बलरमध्ये एक हुन् । जेम्स एन्डरसन र स्टुअर्ट ब्रोडको सन्यासपछि क्रिस वोक्सजस्ता बलरको रातो बलको क्रिकेटमा उपयोगिता निकै बढेको छ । विशेषगरी घरेलु मैदानमा क्रिस वोक्स जस्ता बलरहरु निकै घातक साबित हुन्छन् ।
नटिंघमको ट्रेन्टब्रिजमा इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्टमा वेस्ट इन्डिजको टोलीले खेलमा पुनरागमन गरेको छ । दोस्रो टेस्टमा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ओली पोपको शतकसँगै ४१६ रन बनाएको थियो । ओली पोपले वेस्ट इन्डिजविरुद्ध १ सय २१ रनको बलियो इनिङ खेलेका थिए । पोपबाहेक बेन डकेटले ७१ र कप्तान बेन स्टोक्सले ६९ रनको योगदान दिए ।
जवाफमा वेस्ट इन्डिजले पनि जवाफी आक्रमण गर्दै पहिलो इनिङ्समा ४१ रनको अग्रता लिएको छ । वेस्ट इन्डिजका लागि केवम हजले १२० रनको बलियो शतकीय पारी खेले भने तल्लो क्रमका जोशुआ डी सिल्भाले अविजित ८२ रनको पारी खेले ।

टिप्पणी लेख्नुहोस्