महिला एसिया कप क्रिकेटमा आज भारत र युएई भिड्दै
काठमाडौंँ । डिफेन्डिङ च्याम्पियन भारतीय महिला क्रिकेट टोलीले एसिया कपको दोस्रो खेलमा आइतबार (आज) संयुक्त अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ । हरमनप्रीत कौरको कप्तानीमा रहेको भारतीय टोलीले पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो ।
भारतले पछिल्लो पटक सन् २०२२ को एसिया कपमा युएईलाई १०४ रनले हराएको थियो । त्यस खेलमा जेमिमा रोड्रिग्वेजले ४५ बलमा ७५ रन बनाएकी थिइन् ।
भारतीय महिला टोलीले एसिया कपमा दबदबा कायमै राखेको छ । भारतले एसिया कपको ५० ओभरको फर्म्याटमा चार पटक र चार पटक एसिया कप टी–२० को उपाधि जितेको छ । महिला एसिया कप टी–२० मा भारतले २० मध्ये १७ खेल जितेको छ । सन् २०२२ को फाइनलमा टोलीले बंगलादेशलाई पराजित गरेको थियो ।
पहिलो खेलमा युएई नेपालसँग ६ विकेटले पराजित भएको थियो । समूह 'ए' मा नेपालले आज नै पाकिस्तानको सामना गर्नेछ । प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । नेपालले सन् २०१६ पछि पहिलो पटक प्रतियोगितामा सहभागिता जनाउन लागेको हो भने युएईका लागि यो लगातार दोस्रो प्रतियोगिता हो ।

टिप्पणी लेख्नुहोस्