लेख विवरण

चोटका कारण श्रेयांका एसिया कपबाट बाहिरिइन

चोटका कारण श्रेयांका एसिया कपबाट बाहिरिइन

काठमाडौंँ । भारतीय अलराउण्डर श्रेयांका पाटिल बायाँ हातको चोटका कारण महिला एसिया कप २०२४ बाट बाहिरिएकी छिन् । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा २१ वर्षीया भारतीय अफ स्पिनरको बायाँ हातको चौथो औंला भाँचिएको उल्लेख छ ।

श्रेयांकाले शुक्रबार पाकिस्तानविरुद्ध ३.२ ओभर बलिङ गर्दै १४ रन खर्चेर २ विकेट लिएकी थिइन् । १४.२ ओभरमा ७ विकेट गुमाउँदै भारतीय टोली विजयी भएपछि उनलाई ब्याटिङको आवश्यकता परेन । भारतका लागि श्रेयांकाले ३ एकदिवसीय खेलमा ५ विकेट लिएकी छिन् भने १२ टी–२० मा १६ विकेट लिएकी छिन् ।

उनको स्थानमा २६ वर्षीया बायाँ हाते अनक्याप्ड स्पिनर तनुजा कंवरलाई टोलीमा समावेश गरिएको छ । तनुजा महिला प्रिमियर लिग (डब्लुपिएल)मा गुजरात जायन्ट्स (जीटी) र रेलवेबाट घरेलु क्रिकेटमा खेल्छिन्।

डिफेन्डिङ च्याम्पियन भारतीय महिला क्रिकेट टोलीले एसिया कपको दोस्रो खेलमा आइतबार (आज) संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दैछ । हरमनप्रीत कौरको कप्तानीमा रहेको भारतीय टोलीले पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो ।

भारतले समुह ए को तेस्रो खेल जुलाई २३ मा नेपालविरुद्ध खेल्ने तालिका रहेको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.