ई स्पोर्ट्सको वार्षिक क्यालेन्डर सार्वजनीक
काठमाडौँ । ई स्पोर्ट्स संघ नेपालले वार्षिक क्यालेन्डर सार्वजनीक गरेको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर संघले चालू आर्थिक वर्षको वार्षिक क्यालेन्डर सार्वजनीक गरेको हो । संघका अध्यक्ष अन्जन धमलाले खेल र खेलाडी विकासको मुख्य आधारनै सम्बन्धित खेलको व्यवस्थित क्यालेन्डर रहेको उल्लेख गर्दै खेलाडीलाई पर्याप्त प्रतियोगिता दिन संघ प्रतिबद्ध रहेको बताए । उनले ई स्पोर्ट्सको सन्दर्भमा नेपाली समाजमा केही भ्रमपूर्ण बुझाई रहेको बताउँदै ई स्पोर्ट्स मान्छे बिगार्ने नभएर सपार्ने खेल रहेको उल्लेख गरे ।
संघले चालू आर्थिक वर्षमा कलेज प्रतियोगितादेखि प्रदेश, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका कार्यक्रम आयोजना र सहभागीता जनाउने बताएको छ । इन्टर कलेज च्याम्पियनसिप भदौंमा, बागमती च्याम्पियनसिप असोजमा, एसिया मार्सल आर्ट एण्ड इन्डोर गेम्स मंसिरमा, ईशानको राष्ट्रिय च्याम्पियनसिप माघमा, ई स्पोर्ट्स अवार्ड चैतमा, एसियन ई स्पोर्ट्स चैत/बैशाखमा र कोशी च्याम्पियनसिप आसन्न जेठमा सञ्चालन गर्ने गरि तालिकमा उल्लेख छ ।
संघका उपाध्यक्ष पुरन केसीले पछिल्लो एसियन गेम्समा समावेश पब्जी, एमएल, डोटा, अनर अफ किंग्स, ई फुटबल लगायतलाई खेललाई क्यालेन्डरमा प्राथमिकतामा राखिने बताए । उनले संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा नीजि तथा विभिन्न संघ, संस्थाको सहयोगमा क्यालेन्डरको सफल कार्यान्वयन गरिने प्रतिबद्धता ब्यक्त गरे ।
आधुनिक प्रविधिमा आधारित खेल विधाको रुपमा रहेको ई स्पोर्ट्सको क्षेत्रमा काम गर्ने गरि सरकारले बनाएको ई स्पोर्ट्स संघ नेपालले स्थापनाको तेस्रो महिनामै गत असारमा कर्णाली प्रदेशको सुर्खेतमा पहिलो राष्ट्रिय च्याम्पियनसिपको आयोजना गरेको थियो । क्यालेन्डर सार्वजनीक कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष हिमबिक्रम केसी, उपाध्यक्ष कल्पदीप राई, सचिव अधिराज रेग्मी, सदस्यहरु सजिब भट्टराई, सिजन भट्टराई र प्रकाश घर्ति लगायतको उपस्थिती रहेको थियो ।

टिप्पणी लेख्नुहोस्