श्रीलङ्कामा आइसिसीको वार्षिक बैठक सम्पन्न, अमेरिका र चिली बोर्डलाई नोटिस
काठमाडौंँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले श्रीलङ्कामा वार्षिक बैठक आयोजना गरेको थियो । चार दिनसम्म चलेको उक्त बैठकमा आइसिसीका १०८ सदस्यको सहभागिता थियो ।
मिडिया रिपोर्टका अनुसार गत महिना संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा टी–२० विश्वकप आयोजना गर्दा आइसिसीलाई घाटा भएको बैठकले निस्कर्ष निकालेको छ । प्रतियोगिताका क्रममा त्यहाँ बजेटभन्दा बढी रकम खर्च भएको थियो । यस्तोमा आइसीसीले सोमबार टी–२० विश्वकपको व्यवस्थापन पुनरावलोकन गर्न तीन सदस्यीय समिति गठन गरेको हो । यो समितिमा न्युजील्यान्डका पूर्व ब्याट्सम्यान रोजर टोसे र आईसीसीका अन्य दुई निर्देशक लसन नायडू र इमरान ख्वाजा रहेका छन् । न्युयोर्क, फ्लोरिडा र डलासमा खेलहरू आयोजना गर्न आईसीसीलाई दुई करोड अमेरिकी डलरभन्दा बढी घाटा भएको अनुमान गरिएको छ ।
आइसिसीको बैठकमा दुई क्रिकेट बोर्डलाई नोटिस दिने निर्णय पनि भएको छ । अमेरिकी क्रिकेट बोर्ड र चिली क्रिकेट दुवैलाई आइसिसी सदस्यताको मापदण्ड पूरा नगरेको भन्दै नोटिस जारी गरिएको छ । यो अवधिमा दुवै क्रिकेट बोर्डलाई १२ महिनाको समय दिइएको छ, जसमा उनीहरुले सुधार गर्न सक्छन् ।
बैठकले महिला टी–२० विश्वकपमा टोलीको संख्या बढाउने निर्णय पनि गरेको छ । सन् २०३० को संस्करणबाट यस प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ । आगामी विश्वकपमा १० टोलीले सहभागिता जनाउनेछन् भने सन् २०२६ को संस्करणमा १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । सन् २००९ मा पहिलो पटक महिला टी–२० विश्वकप खेलिएको थियो र त्यसपछि ८ टिमसहभागी भएका थिए । त्यसपछि सन् २०१६ देखि १० टिमले खेल्न सुरु गरेका थिए ।
आइसिसीले सन् २०२६ मा भारत र श्रीलङ्कामा आयोजना हुने टी–२० विश्वकपका लागि ८ वटा क्षेत्रीय छनोट पनि घोषणा गरेको छ । जसमा अफ्रिका र युरोपका २–२, अमेरिका महादेशका १ र एसिया तथा ईएपी (इस्ट–एसिया प्यासिफिक) बाट क्षेत्रीय छनोटका कुल ३ टोली छनोट हुनेछन् ।

टिप्पणी लेख्नुहोस्