लेख विवरण

भान्डरसे र असालंकाको स्पिनले भारतीय टोलीलाई हरायो

भान्डरसे र असालंकाको स्पिनले भारतीय टोलीलाई हरायो

काठमाडौंँ । कोलम्बोमा भएको दोस्रो एकदिवसीय खेलमा श्रीलंकाले भारतलाई ३२ रनले पराजित गरेको छ । श्रीलङ्काको यो जित यस्तो समयमा आएको हो जब उसले भारतविरुद्ध पछिल्ला सात एकदिवसीय खेलमा हार बेहोरिरहेको थियो । सबै फर्म्याटको कुरा गर्ने हो भने पछिल्ला ११ खेलमा श्रीलंका लगातार भारतसँग पराजित हुँदै आएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले कठिन पिचमा २४० रन बनाए पनि भारतको पूरै टिम २०८ रनमा अलआउट भएको थियो ।

श्रीलङ्काको जितमा जेफ्री भान्डरसे र कप्तान चरिथ असालंकाले गजबको प्रदर्शन गरे । भान्डरसेले भारतका ६ र असालंकाले ३ ब्याट्सम्यानलाई आउट गरे । २ सय ४१ रनको लक्ष्य पछ्याएको भारतले राम्रो सुरुवात गरेको थियो । रोहित शर्माले ४४ बलमा ६४ रनको पारी खेल्दै भारतलाई राम्रो स्थितिमा ल्याएका थिए तर भान्डरसे र असालंकाको स्पिनले उनको इनिङलाई बेकार बनायो ।

१२ औं ओभरमा जेफ्री भान्डरसे बलिङ गर्न आउदा भारतले बिना कुनै क्षति ८० रन बनाइसकेको थियो । र खेल सहजै भारतको पक्षमा जाने देखिन्छ । तर, १४ औं ओभरमा आफ्नो स्पेलको दोस्रो ओभरमा उनले आक्रामक इनिङ खेलिरहेका रोहित शर्मालाई आउट गर्दै आफ्नो टोलीलाई पुनरागमनको मौका दिए । त्यसपछि भारतले अर्को ५० रन बनाउँदा थप पाँच विकेट गुमायो र यी सबै विकेट भ्यान्डरसेले लिएका थिए ।

यहाँबाट खेल श्रीलङ्काको पक्षमा आयो, तर अक्षर पटेल र वासिङ्टन सुन्दरबीच ३८ रनको साझेदारीले भारतलाई फेरि एकपटक खेलमा ल्यायो, तर त्यसपछि कप्तान चरित असालंकाले फेरि आफ्नो स्पिनबाट जवाफी आक्रमण गरे । सुन्दर र अक्षरबाहेक उनले मोहम्मद सिराजको विकेट लिएर खेललाई पूर्णरुपमा श्रीलङ्कातर्फ फर्काए ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.