दिनेश कार्तिकले एसए २० खेल्ने
काठमाडौंँ । दिनेश कार्तिक एसए २० मा खेल्ने पहिलो भारतीय खेलाडी बन्ने भएका छन् । ईएसपीएन क्रिकइन्फोका अनुसार कार्तिक पार्ल रोयल्सका लागि विदेशी खेलाडीको रुपमा एसए २० मा सामेल हुनेछन् । एसए–२० आगामी जनवरी ९ देखि सुरु हुनेछ ।
गत जुनमा कार्तिकले आफ्नो ३९ औं जन्मदिन मनाउने क्रममा सन्यासको घोषणा गरेका थिए । त्यसपछि एसए २० कार्तिकको पहिलो प्रतियोगिता हुनेछ । कार्तिकले भारतका लागि १ सय ८० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले पछिल्लो पटक सन् २०२४ को आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलोरबाट खेलेका थिए । आरसीबीले उनलाई सन् २०२५ को आइपिएल सिजनका लागि मेन्टर र ब्याटिंग कोचको रुपमा अनुबन्ध गरेको छ ।
कार्तिकले अहिलेसम्म कुल ४०१ टी–२० म्याच खेलेका छन् । आइपिएलमा उनले कोलकाता नाइट राइडर्ससहित ६ टिमबाट खेलेका छन् । कार्तिक आइपिएलका सबैभन्दा फिट खेलाडीमध्ये एक थिए । उनले १७ सिजनको दुई खेलमा मात्र सहभागिता जनाएका थिएनन ।
बीसीसीआईले अवकाश प्राप्त भारतीय खेलाडीलाई मात्र विदेशी टी–२० लिग खेल्न अनुमति दिएको छ । गत वर्ष पूर्व भारतीय ब्याट्सम्यान अम्बाती रायुडुले सिपिएलमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट खेलेका थिए भने रोबिन उथप्पा र युसुफ पठानले सन् २०२३ को आइएलटी २० मा दुबई क्यापिटल्सबाट खेलेका थिए । दुई वर्षअघि सुरेश रैनाले दुबईटी–१० प्रतियोगितामा भाग लिएका थिए ।

टिप्पणी लेख्नुहोस्