लेख विवरण

बंगलादेशविरुद्धको टेस्ट सिरिजका लागि नसीम शाह पाकिस्तानका उपकप्तान, सउद शकीलको पुनरागमन

बंगलादेशविरुद्धको टेस्ट सिरिजका लागि नसीम शाह पाकिस्तानका उपकप्तान, सउद शकीलको पुनरागमन

काठमाडौंँ । पाकिस्तानले बंगलादेशविरुद्ध दुई खेलको टेस्ट सिरिजका लागि शान मसूदको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको छ । घोषित टोलीमा घरेलु क्रिकेट र पाकिस्तान शाहीनका लागि उत्कृष्ट प्रदर्शन गरेका ब्याट्सम्यान कामरान गुलाम र मोहम्मद हुरैरा नयाँ अनुहार हुन् भने इमाम उल हक, फहीम अशरफ, मोहम्मद नवाज, नोमान अली र साजिद खानलाई टिमबाट हटाइएको छ ।

घाइते तीव्र गतिका बलर हसन अली र मोहम्मद हसन जुनियरको नाम चर्चामा आएन भने चोटबाट निको हुँदै आएका तीव्र गतिका बलर नसीम शाहले १३ महिनापछि टेस्ट क्रिकेटमा पुनरागमन गरेका छन् ।

मध्यक्रमका ब्याट्सम्यान सउद शकीललाई उपकप्तान बनाइएको छ र उनले शाहीन शाह अफ्रिदीको स्थान लिएका छन् । अगस्ट २०२४ देखि अप्रिल २०२५ को बीचमा पाकिस्तानले कुल नौ टेस्ट, १७ एकदिवसीय र १४ टी–२० खेल खेल्नुपर्ने छ, जसलाई ध्यानमा राखेर तीव्र गतिका बलर अफ्रिदीको बोझ व्यवस्थापन गर्न यो निर्णय लिइएको हो ।

सन् २०२३–२४ को घरेलु सिजनमा कामरान गुलामले ११ प्रथम श्रेणी खेलमा १ हजार २५ रन बनाएका थिए । यसबाहेक उनले पाकिस्तान शाहीनबाट खेल्दै बंगलादेश 'ए' विरुद्ध पनि अविजित शतक प्रहार गरेका थिए । उनी सन् २०२२–२३ मा न्युजिल्यान्डविरुद्धको घरेलु टेस्ट शृङ्खलामा पनि टेस्ट टोलीमा अटाएका थिए, तर त्यसपछि उनले मौका पाएनन् ।

मोहम्मद हुरैराले हालै बंगलादेश 'ए' विरुद्ध दोहोरो शतक प्रहार गरेका थिए । उनले पछिल्ला दुई प्रथम श्रेणीको घरेलु सिजनमा क्रमशः १०२४ र ९६१ रन बनाएका छन् । उनी जुलाई २०२३ मा श्रीलङ्काविरुद्ध पाकिस्तानी टेस्ट टोलीका सदस्य पनि थिए तर उनले मौका पाएनन्।

तीव्र गतिका बलर मोहम्मद अलीले सन् २०२२ मा इंग्ल्यान्डविरुद्ध दुई टेस्ट म्याच खेलेका थिए । उनले यस वर्ष १४ प्रथम श्रेणी म्याचमा ४७ विकेट लिएका छन भने बंगलादेशविरुद्धको इनिङ्समा ६ विकेट सहित कुल ९ विकेट लिएका थिए ।

सिरिजको पहिलो खेल २१ अगस्टदेखि रावलपिण्डीमा सुरु हुनेछ । दोस्रो खेल अगस्ट ३० देखि सेप्टेम्बर ३ सम्म कराँचीमा हुनेछ ।

पाकिस्तानी टोलीः शान मसूद (कप्तान), सउद शकील (उप–कप्तान), आमिर जमाल, अब्दुल्ला शफिक, अबरार अहमद, बाबर आजम, कामरान गुलाम, खुर्रम शहजाद, मिर हमजा, मोहम्मद अली, मोहम्मद हुरैरा, मोहम्मद रिजवान (विकेटकीपर), नसीम शाह, सैम अयुब, सलमान अली आगा, सरफराज अहमद (विकेटकिपर) र शाहीन शाह अफ्रिदी।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.