शतकको बाबजुद ऋषभ पन्तलाई आईसीसीको कारबाही, अंपायरसँगको असहमति महँगो पर्यो
लीड्स | भारतका विकेटकीपर ब्याट्सम्यान ऋषभ पन्तले इंग्ल्याण्डविरुद्ध जारी पहिलो टेस्ट खेलको तेस्रो दिन उत्कृष्ट प्रदर्शन गर्दै दुबै इनिङमा शतक प्रहार गरे तापनि उनको आचरणका कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) बाट कारबाही भोग्नुपरेको छ।
हेडिंग्ले टेस्टको दौरान पन्तले अंपायरको निर्णयप्रति असहमति जनाउँदै मैदानमै आपत्तिजनक व्यवहार गरेपछि उनलाई आईसीसी आचार संहिता अन्तर्गत लेभल १ उल्लङ्घन गरेको ठहर गरिएको हो।
आईसीसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "पन्तले खेलका क्रममा अंपायरको निर्णयप्रति असहमति जनाउनुका साथै खेलको भावना विपरीत व्यवहार गरेका थिए, जुन आचार संहिता अनुच्छेद २.८ अनुसार दण्डनीय हो।"
घटना खेलको ६१औं ओभरमा भएको हो, जब इंग्ल्याण्डका ह्यारी ब्रुक र बेन स्टोक्स क्रिजमा थिए। पन्तले बलको स्थितिबारे अंपायरसँग असन्तुष्टि जनाउँदै बललाई मैदानमा फ्याँकिदिएका थिए, जब अंपायरले बल परिवर्तन गर्न नमाने।
यद्यपि पन्तले आफ्नो गल्ती स्वीकार गर्दै आईसीसी म्याच रेफ्री रिची रिचर्डसनद्वारा प्रस्तावित सजाय स्वीकार गरेका छन्। त्यसैले थप अनुशासनात्मक सुनुवाइ आवश्यक परेको छैन।
उक्त घटनाको रिपोर्ट मैदानका अंपायर क्रिस गैफनी र पॉल रीफेल, तेस्रो अंपायर शारफुद्दौला इब्ने शाहिद, र चौथो अंपायर माइक बर्न्सले गरेका थिए।
आईसीसीले पन्तको अनुशासन रेकर्डमा एक डिमेरिट अंक थपेको छ। पछिल्लो २४ महिनामा उनको यो पहिलो उल्लङ्घन हो।
लेभल १ उल्लङ्घनका लागि न्यूनतम दण्ड औपचारिक चेतावनी र अधिकतम ५० प्रतिशतसम्म म्याच शुल्क कटौती र एकदेखि दुई डिमेरिट अंक हुने व्यवस्था छ।

टिप्पणी लेख्नुहोस्