मनास्लु र वारियर्सलाई एसडब्लुएससी कप
काठमाडौं, असार १० गते । मनास्लु र वारियर्सले एसडब्लुएससी एसइइ थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । मनास्लु ब्वाइज तथा वारियर्स गल्र्समा च्याम्पियन बने ।
बसुन्धरास्थित आयोजक साउथ वेस्टर्न स्टेट कलेज (एसडब्लुएससी) को कोर्टमा भएको ब्वाइज फाइनलमा मनास्लुले बीएमकेलाई १८–१७ ले पराजित ग¥यो ।
गल्र्सको उपाधि भिडन्तमा वारियर्सले भ्याली पब्लिकलाई १३–१२ ले हरायो । दुवै समूहका विजेताले १५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गरे । विजेता टोलीका प्रत्येक खेलाडी र ‘मोस्ट भेलुएबल प्लेयर’ ले ५० प्रतिशत छात्रवृत्ति पनि पाउने छन् । उपविजेतालाई ४० प्रतिशत तथा सहभागी टिमका खेलाडीलाई २० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ ।
तीनदिनको अवधिमा मनास्लु र वारियर्सको यो दोश्रो उपाधि हो । दुवैले आइतबार प्रथम एलएनए एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका थिए ।
ब्वाइजमा मनास्लुका शुभम् सैजु र गल्र्समा वारियर्सकी दिब्यान्शा कार्की ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेतालाई एसडब्लुएससीका क्याम्पस चिफ डा. राजेन्द्र केसी, भाइस प्रिन्सिपल हरिसिंह केसी, प्रोग्राम को–ओर्डिनेटर राजेन्द्र लामिछाने, प्रोग्राम डाइरेक्टर गणेश महरा र इन्टरनेसनल रिलेसन को–ओर्डिनेटर सरिता शाक्य प्रधानले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
दुईदिने प्रतियोगिताको ब्वाइजमा ३२ तथा गल्र्समा १८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

टिप्पणी लेख्नुहोस्