निको विलियम्सद्धारा बार्सिलोनामा जान चाहेको औपचारिक जानकारी
बिल्बाओ, स्पेन – स्पेनिस फुटबल स्टार निको विलियम्सले आफ्नो हालको क्लब एथ्लेटिक क्लबलाई औपचारिक रूपमा जानकारी गराएका छन् कि उनी यो गर्मीको ट्रान्सफर विन्डोमा एफसी बार्सिलोनामा जान चाहन्छन्।
स्पेनको चर्चित टेलिभिजन कार्यक्रम एल चिरिङ्गुइटो टीभीका पत्रकार एडु भेलास्को जुनियरका अनुसार, निकोले क्लबलाई सोमबार बिहानै आफ्नो निर्णय सुनाएका हुन्।
२२ वर्षीय बास्क विंगर निकोलाई लामो समयदेखि बार्सिलोनाले पछ्याउँदै आएको छ। गत सिजन सम्झौता हुन नसेको भए पनि यसपटक दुवै पक्षबीच सहमति लगभग टुंगिएको बताइएको छ।
विलियम्सले बार्सिलोनासँग २०३१ सम्मको ६ वर्षे सम्झौतामा सहमति जनाइसकेको रिपोर्टहरूमा उल्लेख छ। व्यक्तिगत तलब, बोनस लगायतका विषयहरूमा कुरा मिलिसकेको छ। अब बार्सिलोनाले निकोको €५८ मिलियनको रिलिज क्लज एक्टिभ गर्ने तयारीमा छ, जुन इन्फ्लेसन अनुसार बढेर €६२ मिलियन सम्म पुग्न सक्छ।
बार्सिलोनाले यस डिललाई जुलाई १ या २ तारिखमा टुंग्याउने योजना बनाएको छ, जसले यो ट्रान्सफरलाई नयाँ वित्तीय वर्षमा गनिन्छ।
बार्सिलोनाले किस्तामा रकम तिर्ने प्रस्ताव गर्न सक्ने अनुमान गरिए पनि एथ्लेटिक क्लब पूर्ण रकम एकमुष्ट चाहन्छ। क्लबका आन्तरिक स्रोतअनुसार उनीहरू कुनै पनि किस्ताबन्दी स्कीममा जान इच्छुक छैनन्।
यदि सबै प्रक्रिया समयमै सम्पन्न भयो भने निकोले जुलाई १३ देखि सुरु हुने बार्सिलोनाको प्रि-सीजन प्रशिक्षणमा सहभागिता जनाउनेछन्। यसो गर्दा उनी एथ्लेटिक क्लबको प्रि-सीजनमा जान नपर्नेछ।
यस ऐतिहासिक ट्रान्सफरले ला लिगामा आगामी सिजनका लागि बार्सिलोनाको आक्रामक पंक्ति थप बलियो हुने विश्वास गरिएको छ।

टिप्पणी लेख्नुहोस्