राहुल–पन्तको शतक, भारत दोस्रो पारीमा ३६४ रनमा अलआउट, इंग्ल्यान्डलाई जितका लागि ३७१ रनको लक्ष्य
काठमाडौं, जेठ ११ – भारतले एन्डरसन–तेन्दुलकर ट्रफी अन्तर्गत पहिलो टेस्ट म्याचमा उत्कृष्ट प्रदर्शन गर्दै इंग्ल्यान्डलाई जितका लागि ३७१ रनको विशाल लक्ष्य दिएको छ। चौंथो दिनको समाप्तिसम्म इंग्ल्यान्डले विकेट नगुमाई २१ रन जोडिसकेको छ। अहिले इंग्ल्यान्डलाई जितका लागि अझै ३५० रन आवश्यक छ।
इंग्ल्यान्डका ओपनर ज्याक क्राउली १२ रन र बेन डकेट ९ रनमा अविजित छन्। भारतले पहिलो पारीमा ४७१ रन बनाएको थियो, जबकि इंग्ल्यान्डले पहिलो पारीमा ४६५ रनमा समेटिएको थियो। यसरी भारतलाई ६ रनको सानो अग्रता मिलेको थियो।
दोस्रो पारीमा भारतले ३६४ रन बनाउँदै कुल ३७० रनको अग्रता लिन सफल भयो। इंग्ल्यान्डले जितका लागि ३७१ रन चेज गर्नुपर्नेछ।
चौंथो दिनको खेल विवरण
चौंथो दिन भारतले ९०/२ बाट खेल सुरु गरेको थियो तर कप्तान शुभमन गिल (८ रन) पहिलो ओभरमै बोल्ड भए। उनले पहिलो पारीमा १४७ रन बनाएका थिए। गिल आउट भएपछि केएल राहुलले जिम्मेवारी सम्हाले र संयमित ब्याटिङ गर्दै १८ औं टेस्ट अर्धशतक पूरा गरे।
ऋषभ पन्तले आक्रामक सुरुवात गरे तर केही जोखिमपूर्ण शट्स खेले। एकपटक उनलाई एलबीडब्लु दिइएको थियो तर डिआरएसबाट बच्न सफल भए। पछि पन्तले धैर्यका साथ खेल्दै उत्कृष्ट ११८ रन बनाए। केएल राहुलले १३७ रनको योगदान दिए।
पन्त र राहुलबीच चौथो विकेटका लागि १९५ रनको साझेदारी भएको थियो। तर यी दुई आउट भएपछि भारतका बाँकी ब्याट्सम्यान लामो समय टिक्न सकेनन्। अन्तिम पाँच विकेट ३१ रनको अन्तरमा गुम्यो।
भारतीय पारीको समाप्ति
भारतको दोस्रो पारी ३६४ रनमा समाप्त भयो। करुण नायरले २०, शार्दुल ठाकुरले ४ रन बनाए। सिराज, बुमराह र ठाकुरले खाता खोल्न सकेनन्।
इंग्ल्यान्डको बलिङ प्रदर्शन
इंग्ल्यान्डका लागि ब्रायडन कार्स र जोश टंगले ३-३ विकेट लिए भने शोएब बशीरले २ विकेट लिए। वोक्स र स्टोक्सले १-१ विकेट लिए।
अब इंग्ल्यान्डलाई जितका लागि ३७१ रनको चुनौती छ र भारत जितबाट १० विकेट टाढा छ। खेलको अन्तिम दिन निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

टिप्पणी लेख्नुहोस्