लेख विवरण

एनपीएल सिजन २ का लागि लुम्बिनी लायन्सद्वारा रोहितसहित ६ खेलाडी रिटेन

एनपीएल सिजन २ का लागि लुम्बिनी लायन्सद्वारा रोहितसहित ६ खेलाडी रिटेन

काठमाडौं, असार ११ — नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि लुम्बिनी लायन्सले आफ्नो टिमका ६ प्रमुख खेलाडीहरूलाई रिटेन गर्ने घोषणा गरेको छ। क्लबले यो निर्णय आगामी सिजनमा अझ मजबुत प्रदर्शन गर्ने लक्ष्यका साथ लिएको हो।

लुम्बिनी लायन्सले मार्की खेलाडी रोहितकुमार पौडेल सहित विवेक यादव, सन्दीप जोरा, दिनेश अधिकारी, तिलकराज भण्डारी र अभिषेष गौतमलाई टिममा कायम राखेको छ। यस्तै, सूर्य तामाङ, अर्जुन साउद, दुर्गेश गुप्ता, आशुतोष घिरैयाँ, बिकाश अग्रि र आरिफ खानलाई टिमबाट रिलिज गरिएको छ।

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसीले रिटेन खेलाडीहरूलाई आगामी यात्राको मेरुदण्डको रूपमा प्रस्तुत गर्दै रिलिज गरिएका खेलाडीप्रति आभार व्यक्त गरे।
उहाँले भने, “म ती सम्पूर्ण खेलाडीहरूलाई विशेष धन्यवाद दिन चाहन्छु, जसले हाम्रो यात्रा सुरु गर्दा साथ दिनुभयो। उहाँहरूको योगदान अमूल्य रह्यो र उहाँहरू सधैं हाम्रो परिवारका हिस्सा रहनुहुनेछ। भविष्यमा फेरि एउटै जर्सीमा उहाँहरूलाई देख्न पाउनु हाम्रो अपेक्षा हुनेछ।”

लुम्बिनी लायन्सले आगामी सिजनमा “गर्वको गर्जन” अभियानलाई अझ बुलन्द बनाउँदै नयाँ युवा खेलाडीहरूलाई मौका दिने र विदेशी खेलाडीहरूको छनोट पनि रणनीतिक ढंगले गर्ने जनाएको छ।

क्लबले भनेको छ, “हामी बलियो टोली निर्माणका लागि साना–साना पक्षहरूमा ध्यान दिइरहेका छौं — उत्कृष्ट क्रिकेट प्रदर्शन गर्न, समर्थकहरूको विश्वास जित्न र लुम्बिनीको नाम अझ उचो बनाउन।”

लुम्बिनी लायन्सले आफ्ना समर्थकहरूलाई निरन्तर साथ र माया प्रदान गर्न आह्वान गर्दै, एनपीएल सिजन २ मा नयाँ उत्साह र जोशसाथ प्रतिस्पर्धा गर्ने प्रतिवद्धता जनाएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.