मेयर कप महिला लिगमा खडक क्युईन्सको शानदार जित
राजबिराज, राजबिराजमा जारी राजबिराज मेयर कप सप्तरी महिला प्राइड लिग टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न खेलमा खडक क्युईन्स ले सुरूंगा सरभाइवल्सलाई ५८ रनले पराजित गर्दै शानदार जित हासिल गरेको छ।
खेलमा टस जितेर पहिला ब्याटिङ गरेको खडक क्युईन्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४१ रनको चुनौतीपूर्ण स्कोर खडा गर्यो। टोलीका तर्फबाट ममता चौधरीले ५१ बलमा ८ चौकाको मद्दतले ६८ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरिन्। अर्की ब्याटर मोनिका साहले पनि ३७ रनको महत्वपूर्ण योगदान दिइन्।
सुरूंगा सरभाइवल्सका बलरहरूमध्ये दीपा रामले २ विकेट, भने रोजी कडारी, सानू राजबंशी र सरस्वती चौधरीले समान १–१ विकेट लिए।
१४२ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको सुरूंगा सरभाइवल्सको टोली १६.१ ओभरमा ८३ रनमै समेटिएको थियो। टोलीका तर्फबाट रोमा थापाले २४ बलमा ३७ रन, र साना परविनले १८ रन बनाइन्।
खडक क्युईन्सका बलर भूमि सिंह र टीका साहले समान ३ विकेट लिँदा, ब्याटिङमा चम्किएकी ममता चौधरीले बलिङमा पनि २ विकेट लिँदै प्लेयर अफ दि म्याचको उपाधि हात पारिन्।
प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा राजबिराज रोयल्स र सुरूंगा सरभाइवल्सबीच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ।

टिप्पणी लेख्नुहोस्