लिभरपुलले बोर्नमाउथका डिफेन्डर मिलोश केर्केजलाई ४० मिलियन पाउण्डमा अनुबन्ध गर्यो
काठमाडौंँ । इङ्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले बोर्नमाउथका बाँया डिफेन्डर मिलोश केर्केजलाई अनुबन्ध गरेको छ। क्लबले बिहीबार घोषणा गर्दै £४० मिलियन (करीब $५४.९ मिलियन) को सम्झौतामा २१ वर्षीय हङ्गेरियन खेलाडीलाई पाँच वर्षका लागि अनुबन्ध गरेको हो।
यो लिभरपुलको यो गर्मीयामको तेस्रो ठुलो साइनिङ हो। यसअघि क्लबले डच राइट-ब्याक जेरेमी फ्रिमपोंग र जर्मन मिडफिल्डर फ्लोरियन विर्ट्जलाई अनुबन्ध गरिसकेको छ। विर्ट्ज क्लबको इतिहासकै महँगो खेलाडी बनेका छन्, जसको ट्रान्सफर डिल £११६ मिलियन ($१५९ मिलियन) सम्म पुग्ने छ।
पछिल्लो सिजन लिभरपुलको ट्रान्सफर गतिविधि निकै सीमित थियो, जहाँ फेडेरिको चिएसा (€१२ मिलियन) र जियोर्गी ममार्डाश्विली (€३० मिलियन) मात्र आएका थिए। ममार्डाश्विलीलाई भने भ्यालेन्सिया फर्काइएको थियो।
केर्केजले बोर्नमाउथबाट प्रभावशाली सिजन खेलेका थिए, जसमा उनले २ गोल र ६ असिस्ट गर्दै क्लबलाई प्रिमियर लिगको इतिहासमै पहिलो पटक शीर्ष १० मा पुर्याएका थिए।
लिभरपुलमा उनी एन्डी रोबर्टसन र कोस्टास त्सिमिकाससँग बाँया डिफेन्डको स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। क्लबले यसअघि नै ट्रेन्ट अलेक्जान्डर–अर्नोल्ड रियल म्याड्रिड गएका कारण विकल्पको रुपमा जेरेमी फ्रिमपोंगलाई पनि अनुबन्ध गरिसकेको छ।
२०२३ मा एजे अल्कमारबाट बोर्नमाउथ आएका केर्केज अन्दोनी इराओलाको टोलीका मुख्य खेलाडी थिए र उनले सबै लिग खेलमा सुरुवात गरेका थिए। अन्तर्राष्ट्रिय स्तरमा उनले हङ्गेरीका लागि २३ खेल खेलेका छन्।

टिप्पणी लेख्नुहोस्