लेख विवरण

एमएलसी २०२५: लगातार छैटौं जितसहित प्लेअफ पुग्ने पहिलो टिम बन्यो सेन फ्रान्सिस्को युनिकर्न्स

एमएलसी २०२५: लगातार छैटौं जितसहित प्लेअफ पुग्ने पहिलो टिम बन्यो सेन फ्रान्सिस्को युनिकर्न्स

डलास, अमेरिका – मेजर लिग क्रिकेट (एमएलसी) २०२५ अन्तर्गतको १६औं खेलमा सेन फ्रान्सिस्को युनिकर्न्सले शानदार प्रदर्शन गर्दै सिएटल ओर्कासलाई ३२ रनले पराजित गरेको छ। यस जितसँगै युनिकर्न्स यस सिजनको प्लेअफमा प्रवेश गर्ने पहिलो टिम बन्न सफल भएको छ, भने ओर्कासको लगातार पाँचौं हार हो।

पहिले ब्याटिङ गर्दै सेन फ्रान्सिस्कोले २० ओभरमा ८ विकेट गुमाउँदै १७६ रन बनायो। टिमका कप्तान म्याथ्यु शर्टले २९ बलमा ५२ रन बनाए भने जेक फ्रेजर–म्याकगर्कले २१ बलमा ३४ रन बनाए। रोमारियो शेफर्डले ३१ बलमा ५६ रनको आक्रामक इनिङ्स खेले। बाँकी ब्याट्सम्यानहरू खासै टिक्न सकेनन्।

बलिङतर्फ सिएटलका हरमित सिंह र गेराल्ड कोएट्जीले तीन–तीन विकेट लिए भने ओबेड म्याककॉय र क्यामरून ग्याननले एक–एक विकेट लिए।

१७७ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको सिएटल ओर्कास १८.२ ओभरमै १४४ रनमा समेटियो। ओपनर डेविड वार्नर र शायन जहाँगीरले ६६ रनको राम्रो साझेदारी गरे पनि त्यसपछि लगातार विकेट गुमाउँदै टिम लयमा आउन सकेन। जहाँगीरले २२ बलमा ४० रन बनाएका थिए भने वार्नरले २३ रन जोडे। शिमरन हेटमायरले पनि केही प्रयास गरे तर उनी पनि ३० रनमै सीमित भए।

सेन फ्रान्सिस्कोको बलिङतर्फ हारिस रऊफले ४ विकेट लिए, कप्तान म्याथ्यु शर्टले ३ विकेट लिए भने शेफर्डले २ र बार्टलेटले १ विकेट लिए।

यस जितसँगै सेन फ्रान्सिस्को युनिकर्न्सले एमएलसी २०२५ मा अपराजित यात्रा कायम राख्दै शीर्ष स्थान सुरक्षित गर्दै प्लेअफमा स्थान बनाएको छ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.