लेख विवरण

इङ्ग्ल्यान्डको टेस्ट टोलीमा जोफ्रा आर्चरको पुनरागमन, दोस्रो टेस्टमा भारतविरुद्ध खेल्ने

इङ्ग्ल्यान्डको टेस्ट टोलीमा जोफ्रा आर्चरको पुनरागमन, दोस्रो टेस्टमा भारतविरुद्ध खेल्ने

काठमाडौंँ । तेज गतिका बलर जोफ्रा आर्चरलाई इङ्ग्ल्यान्डले भारतविरुद्धको दोस्रो टेस्टका लागि टोलीमा समावेश गरेको छ। इङ्ग्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (ECB) ले जानकारी दिएको अनुसार, दोस्रो टेस्ट जुलाई २ मा एडबास्टनमा सुरु हुनेछ।

३० वर्षीय आर्चर सन् २०२१ को भारत दौडापछि पहिलोपटक टेस्ट टोलीमा फर्किएका हुन्। उनी लामो समयदेखि कुहिनोको चोट र ढाडको तनावजन्य चोटका कारण टिम बाहिर थिए। उनले हालै चार वर्षपछि पहिलोपटक काउन्टी च्याम्पियनसिप अन्तर्गत ससेक्सबाट पहिलो श्रेणीको खेल खेलेका थिए।

आर्चरले १३ टेस्ट खेलमा ४२ विकेट लिइसकेका छन्। उनले इङ्ग्ल्यान्डका लागि अन्तिमपटक सन् २०२४ को मार्चमा पाकिस्तानमा आयोजित च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकाविरुद्ध एकदिवसीय खेल खेलेका थिए।

आर्चरको आगमन हालै हेडिङ्लेमा भएको पहिलो टेस्टमा भारतलाई पाँच विकेटले हराउँदै १–० को अग्रता लिएको इङ्ग्ल्यान्ड टोलीमा गरिएको एक मात्र परिवर्तन हो।

इङ्ग्ल्यान्ड टेस्ट टोली यस प्रकार छ:
बेन स्टोक्स (कप्तान), जोफ्रा आर्चर, शोएब बशीर, जेकब बेटेल, ह्यारी ब्रुक, ब्राइडन कार्स, स्याम कुक, जाक क्राउली, बेन डकेट, जेमी ओभरटन, ओली पोप, जो रुट, जेमी स्मिथ, जोश टङ, र क्रिस वोक्स।

 
 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.