सुरुंगा सरभाइभल्सद्वारा राजबिराज रोयल्स २३ रनले पराजित, फाइनलमा खडक क्वीन्ससँग भिडन्त तय
राजबिराज, राजबिराजस्थित पबिमाविको क्रिकेट मैदानमा जारी राजबिराज मेयर कप सप्तरी महिला प्राइड लिग दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेलमा सुरुंगा सरभाइभल्सले राजबिराज रोयल्सलाई २३ रनले पराजित गरेको छ। यस जितसँगै सुरुंगाले लिग चरणको सफल समापन गरे पनि फाइनल भिडन्त भने राजबिराज रोयल्स र खडक क्वीन्सबीच हुने तय भएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको सुरुंगा सरभाइभल्सले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १७५ रनको चुनौतीपूर्ण स्कोर तयार गर्यो। सुरुंगाका लागि रोमा थापाले ४४ बलमा ११ चौकाको मद्दतले ७४ रनको शानदार इनिङ्स खेलिन्। यस्तै, साना प्रविणले ४१ रन र सानु राजबंशीले नटआउट रहँदै ३९ रनको योगदान दिइन्। बलिङतर्फ राजबिराजका चाँदनी खातुन र साक्षी यादवले समान १–१ विकेट लिइन्।
१७६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको राजबिराज रोयल्सले भरपूर संघर्ष गरे पनि २० ओभरमा ५ विकेट गुमाउँदै १५२ रनमै सीमित रहन बाध्य भयो। शिवानी साहले ४८ बलमा ८ चौकाको सहायताले नटआउट ५४ रन बनाएर टिमलाई जिततर्फ डोर्याउने प्रयास गरिन्। प्रनिश रानामगरले ३६, प्रतिमा साहले २८ र अपेक्षा यादवले २१ रन जोडिन्। सुरुंगाको तर्फबाट सरस्वती चौधरीले २ विकेट, जबकि रोजी कडारी र बिध्या रामले १–१ विकेट लिइन्।
खेलकी प्लेयर अफ द म्याच रोमा थापा घोषित भइन्, जसले आक्रामक ब्याटिङ प्रदर्शन गर्दै जितमा मुख्य भूमिका निभाइन्।
प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ, जहाँ राजबिराज रोयल्स र खडक क्वीन्सबीच उपाधिका लागि कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

टिप्पणी लेख्नुहोस्