लेख विवरण

पदक विजेता नेपाली खेलाडीहरूलाई सम्मान

पदक विजेता नेपाली खेलाडीहरूलाई सम्मान

काठमाडौं, असार १४ गते । किर्गिस्तानको बिश्केक शहरमा जुन २४ देखि २५ सम्म सम्पन्न अन्तर्राष्ट्रिय हाप्किडो च्याम्पियनसिप २०२५ मा पदक जितेका नेपाली खेलाडीहरूको सम्मानमा नेपाल हाप्किडो संघद्वारा काठमाडौंमा एक विशेष सम्मान कार्यक्रम आयोजना गरेको छ ।

च्याम्पियनसिपमा समीर गुरुङ र राजेन्द्र तामाङले स्वर्ण पदक र सरोज गुरुङले रजत पदक प्राप्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड उपाध्यक्ष ध्रुव आचार्यले पदक विजेता खेलाडीहरूलाई सम्मानपत्र प्रदान गरेका थिए । सम्मान कार्यक्रममा उपाध्यक्ष आचार्यले अन्तर्राष्ट्रिय मञ्चमा पदक जितेर देशको गौरव बढाउने खेलाडीहरूको योगदानको उच्च प्रशंसा गर्दै खेलाडीहरूको सफलता केवल व्यक्तिगत उपलब्धि होइन, यो सम्पूर्ण राष्ट्रको सन्देश हो कि नेपाली युवा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम छन् भन्ने उदाहरण हो । उनले खेलाडीहरूको निरन्तर मेहनत, लगनशीलता र आत्मविश्वासको सराहना गर्दै सरकार तथा खेलकुद सम्बन्धित निकायहरूले यस्ता खेलाडीहरूको प्रोत्साहन र संरक्षणमा अझ बढी ध्यान दिनुपर्ने आवश्यकतामा पनि जोड दिएका थिए ।

उपाध्यक्ष आचार्यले खेलकुदलाई राष्ट्र निर्माणको एक महत्वपूर्ण आधारका रूपमा व्याख्या गर्दै नेपाल हाप्किडो संघले सञ्चालन गरेका कार्यक्रमहरू प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा यस्ता खेलहरूलाई अझ बढी संस्थागत र व्यावसायिक बनाउनु पर्ने धारणा राखेका थिए ।

संघका अध्यक्ष काली बहादुर घर्ती मगरले कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरूको उत्कृष्ट प्रदर्शनले देशलाई गौरवान्वित बनाएको उल्लेख गर्दै आगामी दिनमा संघले तालिम, प्रतिस्पर्धा र संरचनात्मक विकासमा जोड दिने प्रतिबद्धता व्यक्त गरे । उनले ग्रामीण भेगका युवालाई अवसर दिन विद्यालयस्तरीय कार्यक्रम, प्रदेशस्तरीय प्रतियोगिता र प्रशिक्षक विकास तालिम प्राथमिकतामा राखिने जानकारी दिए । कार्यक्रमको अन्त्यमा पदक विजेता खेलाडीहरूलाई बधाई दिँदै निरन्तर सफलता प्राप्त गर्न शुभकामना दिए ।

कार्यक्रममा नेपाल हाप्किडो संघका महासचिव ईन्द्र बहादुर महरा, पदाधिकारी तथा सदस्यहरु, प्रमुख प्रशिक्षक, प्रशिक्षकहरू, खेलाडी तथा खेलाडीका परिवारजन, सञ्चारकर्मी तथा खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.