हेटौंडा, मकवानपुर — बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजना र अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा मकवानपुरको हेटौडामा आयोजित सात दिने रेफ्री तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
तालिममा तीन महिलासहित कुल ४१ जनाको सहभागिता रहेको थियो। सहभागीहरूले रेफ्रीङसम्बन्धी आवश्यक ज्ञान, प्राविधिक सीप तथा शारीरिक अभ्यासहरू सिकेका थिए। तालिमको प्राविधिक प्रशिक्षण कल्पना शर्मा, सचिन अमात्य र रोजेन श्रेष्ठले दिएका थिए भने शारीरिक अभ्यास प्रशिक्षकका रूपमा वीरेन्द्रबहादुर पाण्डे संलग्न थिए।
समापन समारोहमा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामा र बोर्ड सदस्य अमृत लुङ्गबाले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए। कार्यक्रममा प्रशिक्षकहरू, सहभागीहरू तथा स्थानीय खेलकुदकर्मीहरूको उपस्थिति रहेको थियो।
प्रदेशस्तरीय रेफ्रीहरूको क्षमता अभिवृद्धि तथा फुटबल विकासमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमलाई सफल र प्रभावकारी बनाइएको आयोजकहरूले जनाएका छन्।
टिप्पणी लेख्नुहोस्