काठमाडौं, १५ असार २०८२ — नेपाली महिला राष्ट्रिय फुटबल टोलीको कप्तानको रूपमा सवित्रा भण्डारी नियुक्त भएकी छन्। स्टार फरवार्ड भण्डारीले हेड कोच प्याट्रिक डे वाइल्डबाट कप्तानीको आर्मब्याण्ड प्राप्त गर्दै लाओसविरुद्धको खेलमा टोलीको नेतृत्व गरेकी हुन्।
खेल सुरु हुनुअघि टिम टनेलमै कोच डे वाइल्डले सवित्रालाई कप्तानी सुम्पिएका थिए। त्यसपछि उनले पहिलोपटक राष्ट्रिय टोलीलाई कप्तानको रूपमा मैदानमा डोरीन्।
नेपालको महिला फुटबल इतिहासमै सबैभन्दा बढी गोल गर्ने कीर्तिमान बनाएकी सवित्रा अब टोलीको नेतृत्व गर्दै मैदानमा आफ्नो प्रभाव जमाउनेछिन्। उनको अनुभव, आत्मविश्वास र अग्रसरता टोलीलाई थप बलियो बनाउने विश्वास गरिएको छ।
कोच डे वाइल्डले सवित्राको प्रशंसा गर्दै भने, “सवित्रा मेहनती, प्रेरणादायी र जिम्मेवार खेलाडी हुन्। उनी नेतृत्वका लागि उपयुक्त पात्र हुन्।”
नेपालले लाओसविरुद्धको खेलमार्फत नयाँ कप्तानको युगको सुरुवात गरेको छ, जसले टोलीलाई आगामी प्रतियोगिताहरूमा सफलता दिलाउने अपेक्षा गरिएको छ।
टिप्पणी लेख्नुहोस्