बागमती प्रदेश सरकारद्वारा ओलम्पियनलाई मासिक भत्ता प्रदान गर्ने घोषणा
चितवन, १५ असार २०८२ — बागमती प्रदेश सरकारले प्रदेशका ओलम्पियन खेलाडीहरूलाई मासिक ५ हजार रुपैयाँ भत्ता प्रदान गर्ने घोषणा गरेको छ।
शनिबार चितवनमा सम्पन्न चौथो ओलम्पियन पुनर्मिलन तथा सम्मान कार्यक्रमको अवसरमा प्रदेश प्रमुख मन्त्री बहादुर सिंह लामाले उक्त घोषणा गरेका हुन्। कार्यक्रम प्रदेश खेलकुद परिषद् बागमतीको आयोजनामा र नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा आयोजना गरिएको थियो।
मुख्यमन्त्री लामाले गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशले सुरु गरिसकेको अभ्यासलाई निरन्तरता दिँदै अब बागमती प्रदेशले पनि ओलम्पियनहरूलाई सम्मानस्वरूप भत्ता दिने बताए।
कार्यक्रममा सन् १९९२, १९९६ र २००० का ओलम्पियनहरू — अनिता श्रेष्ठ, सिताराम शाही, विमला राना मगर, भगवती खत्री, र ज्ञानबहादुर बोहोरालाई सम्मान गरिएको थियो। साथै, सन् १९९६ का दिवंगत ओलम्पियन स्व. सुनिललाल जोशीलाई मरणोपरान्त सम्मान प्रदान गरियो।
कार्यक्रममा मुख्यमन्त्री लामा, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, बागमती खेलकुद परिषद्का सदस्य सचिव दीपक लामा, र नेपाल ओलम्पियन्स एसोसिएसनका अध्यक्ष दीपक विष्टले सम्मान प्रदान गरेका थिए।
सोही अवसरमा अध्यक्ष दीपक विष्ट र किर्तिमानी धावक बैकुण्ठ मानन्धरले पेरिस ओलम्पिक २०२४ मा सहभागिता जनाउने तीन नेपाली खेलाडीहरू — सन्तोषी श्रेष्ठ (एथलेटिक्स), मनिता श्रेष्ठ प्रधान (जुडो), र प्रिन्स दाहाल (ब्याडमिन्टन) — लाई ओलम्पियन पिन र प्रमाणपत्र प्रदान गरे।
कार्यक्रमअन्तर्गत बिहान सौराहाको हात्तीचोकदेखि रिभरसाइडसम्म वाकाथन पनि आयोजना गरिएको थियो, जसमा प्रमुख अतिथिसहित ओलम्पियन, स्थानीय खेलाडी, खेलकर्मी, संघ संस्थाका प्रतिनिधि र स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो।
स्कुल टु ओलम्पिक कार्यक्रमको समापनको रूपमा आयोजित यस विशेष दिनमा ओलम्पियनहरूको योगदानलाई कदर गर्दै पुनर्मिलन, सम्मान र प्रेरणादायी क्षणहरू साझा गरियो। ओलम्पियन्स एसोसिएसनले चार वर्षअघि कर्णाली प्रदेशको सुर्खेतबाट कार्यक्रम सुरु गरेको हो।

टिप्पणी लेख्नुहोस्