काठमाडौं, १५ असार २०८२ — नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले मार्की खेलाडी कुशल भुर्तेलसहित सात खेलाडीलाई रिटेन गरेको छ।
आइतबार सार्वजनिक गरिएको विज्ञप्तिमा पोखराले भुर्तेलसँगै सागर ढकाल, आकाश चन्द, किरण ठगुन्ना, बिपिन खत्री, दिनेेश खरेल र तृतराज दासलाई टोलीमा कायम राख्ने जनाएको छ।
रिटेन भएका खेलाडीमध्ये भुर्तेल अलराउन्डर हुन् भने ढकाल, चन्द र खत्री बलिङ विभागमा सक्रिय छन्। ठगुन्ना, खरेल र दास भने ब्याटिङतर्फ योगदान दिने खेलाडी हुन्।
त्यसैगरी पोखराले पहिलो संस्करणमा खेलेका दिलीप नाथ, नारायण जोशी, सुनम गौतम, अमृत गुरुङ र सुदीप अर्याललाई यस सिजनका लागि रिलिज गरेको छ।
एनपीएलको सबैभन्दा महँगो फ्रेन्चाइज मानिएको पोखरा एभेन्जर्सले यो सिजनलाई भव्य बनाउने तयारी गरिरहेको छ। टिमका मालिक सुबोध त्रिपाठीका अनुसार फ्रेन्चाइजले चर्चित विदेशी खेलाडीलाई टिममा भित्र्याउने तयारी गरिरहेको छ।
उनले भने, "हामी विश्वस्तरीय विदेशी क्रिकेटरहरूसँग सम्वादमा छौं। बलियो टिम बनाउन चर्चित खेलाडी ल्याउनेछौं। यसले एनपीएलको गरिमा पनि बढाउनेछ।"
नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक क्यालेन्डर अनुसार एनपीएलको दोस्रो संस्करण नोभेम्बर २०२५ मा आयोजना हुने तय भएको छ, यद्यपि औपचारिक मिति भने हालसम्म घोषणा गरिएको छैन।
टिप्पणी लेख्नुहोस्