नेपाल ओलम्पियन्स एसोसिएसनको पहिलो बैठक सम्पन्न, स्कुल टु ओलम्पिक समापन कार्यक्रम आयोजकलाई धन्यवाद
काठमाडौं,
नेपाल ओलम्पियन्स एसोसिएसनको नयाँ कार्यसमितिको पहिलो बैठक आज सम्पन्न भएको छ। बैठकले असार १४ गते चितवनको सौराहामा सम्पन्न ‘स्कुल टु ओलम्पिक’ समापन समारोह तथा ओलम्पियन पुनर्मिलन तथा सम्मान कार्यक्रम आयोजना गरेर सफल बनाएकोमा प्रदेश खेलकुद परिषद् बागमतीलाई धन्यवाद ज्ञापन गरेको छ।
उक्त कार्यक्रम एसोसिएसनको संयोजनमा सम्पन्न भएको थियो, जसमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, तथा प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपक लामा, रत्ननगर नगरपालिकाका पदाधिकारीहरू र जिल्ला खेलकुद विकास समिति चितवनको विशेष भूमिका रहेको भन्दै उनीहरूलाई धन्यावाद तथा आभार व्यक्त गरिएको छ।
सर्वसम्मत कार्यसमिति चयन
कार्यक्रम सम्पन्न भएको भोलिपल्ट सौराहामै नेपाल ओलम्पियन्स एसोसिएसनको निर्वाचन साधारणसभा सम्पन्न भएको थियो। सो सभाबाट दीपक विष्टको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको थियो।
सल्लाहकार समिति र अन्य निर्णयहरू
बैठकले नयाँ सल्लाहकार समिति गठन गरेको छ। जसमा:
-
जीतबहादुर केसी
-
बैकुण्ठ मानन्धर
-
सुरेन्द्र हमाल
-
पार्वती थापा (नेपालबाट ओलम्पिकमा सहभागी हुने पहिलो महिला)
-
पुष्पराज ओझा
यसअघि चारजना सल्लाहकारमा रहेका थिए भने पार्वती थापा नयाँ समावेश भएकी हुन्।
त्यस्तै, बैठकले कानुनी सल्लाहकारमा रोहिणीकुमार दाहाल र प्रेस सल्लाहकारमा महेश आचार्यलाई निरन्तरता दिने निर्णय पनि गरेको छ।
प्रदेश सरकारहरूलाई धन्यवाद प्रस्ताव
बैठकले गण्डकी प्रदेश सरकारद्वारा आफ्ना ओलम्पियनहरूलाई उपलब्ध गराइएको मासिक प्रोत्साहन भत्ताप्रति आभार व्यक्त गर्दै, बागमती र सुदूरपश्चिम प्रदेश सरकारहरूले पनि यस्तै प्रोत्साहन भत्ता उपलब्ध गराउने घोषणा गरेकोमा धन्यवाद प्रस्ताव पारित गरेको छ।
महासचिवको टिप्पणी
कार्यक्रमपछि महासचिव राजेन्द्र भण्डारीले भने, “नेपालका ओलम्पियनहरूलाई सम्मान, पहिचान र प्रोत्साहन दिन अब एसोसिएसन थप योजनाबद्ध रूपमा अघि बढ्नेछ।”

टिप्पणी लेख्नुहोस्