वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा नयाँ टोली ‘लुम्बिनी लाभाज’को आगमन
काठमाडौं — नेपालको एक मात्र फ्रेन्चाइज महिला भलिबल लिग ‘वात्सल्य एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभिएल)’ मा नयाँ टोली ‘लुम्बिनी लाभाज’को प्रवेश भएको छ।
आगामी भदौमा हुने दोस्रो संस्करणका लागि लुम्बिनी लाभाज नयाँ जोश र लक्ष्यसहित सहभागी हुँदैछ। यो टोली पहिलो संस्करणमा सहभागी चितवन शक्ति टिमको स्थानमा प्रतिस्पर्धा गर्नेछ।
यस संस्करणमा लुम्बिनी लाभाजसहित कुल ६ वटा फ्रेन्चाइज टोली रहने आयोजकले जानकारी दिएको छ। लुम्बिनी लाभाजको स्वामित्व सुश्री मिडियासँग रहनेछ।
लुम्बिनी लाभाजको आगमनसँगै लुम्बिनी प्रदेशमा महिला भलिबलको विकासमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ। पछिल्लो समय लुम्बिनीमा महिला भलिबलप्रतिको आकर्षण र खेलाडीको सहभागिता बढ्दो छ।
टोलीले छिट्टै आफ्नो मार्की खेलाडी र मुख्य प्रशिक्षकको घोषणा गर्ने तयारी गरिरहेको छ। यस्तै, साउन २ गते हुने एभरेष्ट महिला भलिबल लिगको अक्सनमा टोलीले सक्रिय रुपमा भाग लिने जनाएको छ।
लुम्बिनी लाभाजको आगमनसँगै लिग थप प्रतिस्पर्धात्मक र रोचक हुने विश्वास गरिएको छ।

टिप्पणी लेख्नुहोस्