कोपिला उप्रेती मधेश युनाइटेडको मुख्य प्रशिक्षकमा नियुक्त
काठमाडौं, साउन १ – वात्सल्य एभरेष्ट महिला भलिबल लिग (EWVL) को दोस्रो संस्करणका लागि मधेश युनाइटेडले पूर्व राष्ट्रिय खेलाडी कोपिला उप्रेतीलाई मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको छ।
एक दशकभन्दा लामो समयसम्म राष्ट्रिय महिला भलिबल टोलीमा सक्रिय रहेकी उप्रेतीले १०औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका लागि कास्य पदक जिताउने टोलीको सदस्यको रूपमा पनि योगदान दिएकी थिइन्।
उनी एफआईभीबी (FIVB) लेभल १ र लेभल २ को भलिबल प्रशिक्षक कोर्स सफलतापूर्वक सम्पन्न गरिसकेकी छन्। यसअघि उनले नेपाल पुलिस क्लबको महिला टोलीलाई प्रशिक्षण दिइसकेकी छन्।
अनुबन्धपश्चात प्रतिक्रिया दिँदै उप्रेतीले भनिन्, “मधेश युनाइटेडको प्रशिक्षकको रूपमा समावेश हुन पाउँदा म अत्यन्तै उत्साहित छु। टोलीले उत्कृष्ट प्रदर्शन गर्दै विजय हासिल गर्नेछ भन्ने कुरामा म पूर्ण विश्वास राख्छु।”
उप्रेतीको अनुभव र उपस्थितिले टोली बलियो बन्ने र लिगमा उत्कृष्ट प्रदर्शन गर्ने क्लबको विश्वास छ।
ईन्फिनिटी ड्रिम्सको आयोजनामा हुने दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग आगामी भदौ २० देखि २८ गतेसम्म सञ्चालन हुने तय भएको छ।

टिप्पणी लेख्नुहोस्