रूपेश कुमार विष्ट पोखरा निन्जाजको मुख्य प्रशिक्षकमा नियुक्त
पोखरा, साउन १ – वात्सल्य एभरेष्ट महिला भलिबल लिग (EWVL) को दोस्रो संस्करणका लागि पोखरा निन्जाजले रूपेश कुमार विष्टलाई मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको छ।
टिम डाइरेक्टर विकास खेतानका अनुसार विष्टलाई महिला भलिबलमा लामो अनुभव र सफल ट्र्याक रेकर्डका आधारमा यो जिम्मेवारी दिइएको हो।
विष्ट हाल नेपाल पुलिस क्लबको महिला टोलीका प्रशिक्षकसमेत हुन्। पछिल्लो समय पुलिस महिला भलिबल टोलीले देखाएको उत्कृष्ट प्रदर्शनमा विष्टको नेतृत्व उल्लेखनीय रहेको छ। गत वर्ष काभा महिला क्लब च्याम्पियनसिप जित्दा पनि विष्टकै प्रशिक्षणमा पुलिसले ऐतिहासिक सफलता हासिल गरेको थियो। साथै, विष्टले EWVL को पहिलो संस्करणमा गण्डकी टिमको मुख्य प्रशिक्षकको रूपमा पनि योगदान दिएका थिए।
सहायक प्रशिक्षकको रूपमा एफआईभीबी लेभल टु कोच सन्तोष श्रेष्ठलाई नियुक्त गरिएको क्लबले जनाएको छ।
छ वटा फ्रेन्चाइज टोलीहरूको सहभागितासहित हुने यस लिगलाई नेपाली महिला भलिबलको व्यावसायिक यात्रामा युगान्तकारी मोडको रूपमा हेरिएको छ। प्रतियोगिता भदौ २० देखि २८ गतेसम्म आयोजना हुने निश्चित भइसकेको छ।
पोखरा निन्जाज टिमले सबै समर्थकहरूलाई साथ र हौसलाको अपील गर्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता जनाएको छ।

टिप्पणी लेख्नुहोस्