लेख विवरण

सुदूरपश्चिम रोयल्स र एसपीए कलेजबीचको साझेदारी दोस्रो सिजनमा पनि कायमै

सुदूरपश्चिम रोयल्स र एसपीए कलेजबीचको साझेदारी दोस्रो सिजनमा पनि कायमै

धनगढी, साउन १नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि सुदूरपश्चिम रोयल्सले एसपीए कलेज, धनगढीसँगको साझेदारीलाई निरन्तरता दिन पाएकोमा गर्व महसुस गरेको छ।

शैक्षिक संस्था सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) सञ्चालन गर्दै आएको एसपीए कलेजले खेल र शिक्षालाई सँगसँगै अघि बढाउने अवधारणामा काम गर्दै आएको छ। पहिलो सिजनदेखि नै सुदूरपश्चिम रोयल्सको आधिकारिक साझेदार रहँदै आएको कलेजसँगको यो सहकार्य अब थप दुई सिजनसम्म कायम रहने क्लबले जानकारी दिएको छ।

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम पूर्वाधार विकास समितिका अध्यक्षसमेत रहेका एसपीए कलेजका प्रबन्ध निर्देशक सुभाष शाहीले भने, “खेलकुदले युवाहरूमा अपार प्रेरणा दिने क्षमता राख्छ। सुदूरपश्चिम रोयल्ससँगको सहकार्यले हामीलाई कक्षाकोठाबाहिर पनि विद्यार्थीको भविष्यमा लगानी गर्न सक्ने अवसर दिएको छ।”

यसै क्रममा एसपीए कलेजले एसीसी यु–१६ इस्ट जोन कपमा नेपालका लागि उत्कृष्ट प्रदर्शन गरेका सुदूरपश्चिमका दुई युवा खेलाडी सचिन भट्ट र सुशील रावललाई जनही रु २५,००० पुरस्कार स्वरूप प्रदान गरेको छ। उल्लेखनीय कुरा के छ भने, सुशील रावल सुदूरपश्चिम रोयल्सले सिजन १ मा आयोजना गरेको ट्यालेन्ट हन्टमार्फत टिममा चयन भएका खेलाडी हुन्।

सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले सहकार्यबारे प्रतिक्रिया दिंदै भने, “सुभाष शाहीप्रति हामी अत्यन्त आभारी छौं। फाप्ला रंगशालाको विकासमा उहाँको योगदान र हाम्रो टिमप्रतिको समर्थनले सुदूरपश्चिम क्रिकेटलाई एक ब्रान्डका रूपमा स्थापित गर्न ठूलो मद्दत पुर्‍याएको छ।”

खड्काले आगामी वर्षहरूमा पनि सहकार्यलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाउँदै शाहीको नेतृत्वमा आयोजना हुने आगामी फ्रेन्चाइज लिगहरूमा सुदूरपश्चिम रोयल्सको निरन्तर सहभागिता रहने विश्वास व्यक्त गरे।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.