लेख विवरण

चितवन राइनोजको लोगोमा नयाँ स्पर्श — एनपीएल सिजन २ का लागि सानो तर महत्वपूर्ण परिवर्तन

चितवन राइनोजको लोगोमा नयाँ स्पर्श — एनपीएल सिजन २ का लागि सानो तर महत्वपूर्ण परिवर्तन

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा प्रतिस्पर्धा गर्ने फ्रेन्चाइज टिम चितवन राइनोज ले आगामी सिजन २ का लागि आफ्नो टिम लोगोमा सानो तर गहन अर्थ बोकेको परिवर्तन सार्वजनिक गरेको छ।

गत सिजनको लोगोमा “चितवन” भन्ने शब्दलाई प्राथमिकताका साथ अगाडि राखिएको थियो, जुन शहरको पहिचान र गौरवलाई केन्द्रमा राखेर डिजाइन गरिएको थियो। तर यसपटकको लोगोमा “राइनोज” अर्थात् गैँडा लाई मुख्यरूपमा प्रस्तुत गरिएको छ — एक यस्तो प्रतिक, जसले टिमको आत्मा, भावना र उद्देश्यसँग गहिरो सम्बन्ध जोड्दछ।

नयाँ लोगो केवल डिजाइनमा होइन, भावना र प्रतिबद्धतामा पनि नयाँ उचाइ थपिएको छ। यसमा देखिएको बलियो गैँडा अब चितवन मात्र होइन, सम्पूर्ण देशको प्रतीक बनेर प्रस्तुत भएको छ — नेपाली क्रिकेट, चितवनको वन्यजन्तु सम्पदा र लाखौँ समर्थकहरूको मायाको प्रतिनिधित्व गर्दै।

“हामी भन्छौं – भावना उही हो, तर पहिचान अझ बलियो बनेको छ,” टिमका प्रतिनिधि आयुष यौपानेले बताए।
उनले थपे, “गैँडा चितवनको मात्र होइन, सिङ्गो नेपालको गर्व हो। यही विचार बोकेर हामी सिजन २ मा अझ शक्तिशाली रूपमा प्रस्तुत हुँदैछौं।”

गत सिजनमा टिम मस्कट “मिटर गैँडा” ले जुन अपार लोकप्रियता कमायो, त्यसले टिम र फ्यानबीचको आत्मीय सम्बन्धलाई अझ गाढा बनायो। नयाँ लोगोमार्फत त्यही भावना अझ नजिकबाट अभिव्यक्त गरिएको छ।

“नयाँ लोगो हाम्रो रोजाइ र राइनोजको मर्मलाई अझ गहिरो ढंगले प्रस्तुत गर्ने प्रयत्न हो,” यौपाने भन्छन्, “अब हाम्रो टिम र गैँडाको पहिचान लोगोमार्फत अगाडि आउनेछ – भावना उही छ, तर यसको प्रस्तुतिमा ताजगी थपिएको छ।”

चितवन राइनोज अब सिजन २ मा नयाँ ऊर्जा र पहिचानसहित मैदानमा उत्रन तयार हुँदैछ — जहाँ ‘राइनो स्पिरिट’ अझ गहिरो बनेको छ, र टिमको दृष्टिकोण अझ सशक्त।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.