एनपीएल सिजन २ अघि काठमाण्डु गोर्खाजको नयाँ नाम र लोगो सार्वजनिक, व्यवस्थापनमा समेत परिवर्तन
काठमाडौं, साउन ८ — नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को तयारीमा जुटिरहेको काठमाण्डु गोर्खाज फ्रेन्चाइज टोलीले आफ्नो नयाँ नाम र लोगो सार्वजनिक गरेको छ। पहिलो सिजनसम्म काठमाण्डु गुर्खाज को नाममा खेलिरहेको टोलीले व्यवस्थापकीय स्तरमा परिवर्तन गर्दै नाम र लोगोमा समेत नयाँपन ल्याएको हो।
काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको टोलीले बिहीबार एक कार्यक्रममार्फत नयाँ लोगो सार्वजनिक गरेको थियो। उक्त कार्यक्रममा कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहिया, प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरी, र मार्की खेलाडी तथा कप्तान करण केसीको उपस्थिति रहेको थियो।
नयाँ लोगोमा सम्पदा र पहिचानको झल्को
पहिलो लोगोमा ब्याटिङ गरिरहेको चित्र समावेश थियो भने, नयाँ लोगोमा काठमाडौं उपत्यकाका ऐतिहासिक सम्पदाहरू समेटिएको छ। प्रमुख कार्यकारी अधिकृत ठकुरीका अनुसार टोली अब क्रिकेट मात्र नभई संस्कृति र सम्पदाको प्रतिनिधित्व गर्दै अघि बढ्नेछ। “परिवर्तनको खोजी जनताले गरिरहेका छन्, र अहिलेको आवश्यकता अनुसार हामीले यो कदम चालेका हौं,” ठकुरीले भने।
साझेदार र प्रशिक्षक टिम
गोर्खाजले हालै पाँचतारे होटल रोयल टुलिप (ग्वार्को, ललितपुर) सँग हस्पिटालिटी पार्टनरको सम्झौता गरेको छ। रोयल टुलिपका महाप्रबन्धक बलराम पाठकले खेल पर्यटनले देशको अर्थतन्त्र सुदृढ पार्न मद्दत गर्ने विश्वास व्यक्त गरे।
यस्तै, वल्र्ड लिंक टोलीको प्रमुख प्रायोजक बनेको छ। कार्यकारी निर्देशक मनोज अग्रवालले नेपाली क्रिकेटले सबै क्षेत्रलाई छोएकोले आफुहरू पनि यसमा सहभागी हुन आएको बताए। वल्र्ड लिंकको ‘बिट द स्पिड’ कार्यक्रममा ठूलो संख्यामा खेलाडी सहभागी भएकाले उत्साह थपिएको जनाइएको छ।
प्रशिक्षक टिमतर्फ, मोन्टी देसाईलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरिएको छ भने वसन्त शाही (सहायक प्रशिक्षक), सुरज शाक्य (टेक्निकल एनालिस्ट), र पुरन तिरुवा (फिजियो) लाई निरन्तरता दिइएको छ।
खेलाडी र रिटेन्सन
गोर्खाजले सिजन १ मा खेलेका करण केसी, भीम सार्की, शाहव आलम, रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई ‘रिटेन’ गरिसकेको छ। प्रशिक्षक मोन्टी देसाईसँग पुनः काम गर्न टोली उत्साहित रहेको जनाइएको छ।
ट्रेनिङ पार्टनर र तयारी
टोलीको प्रशिक्षण साझेदारको रूपमा थन्डर बोल्ट क्रिकेट एकेडेमी रहनेछ। जेम्स स्कुलद्वारा सञ्चालित एकेडेमीमा फ्लड लाइटमा प्रशिक्षणको सुविधा मिल्ने बताइएको छ।
क्रिकेट संघ नेपाल (क्यान) का महासचिव पारस खड्काले प्रतियोगिता सुरु हुन ३ महिना बाँकी रहेकाले तयारी तीव्र पारिएको बताए। पहिलो सिजन अपेक्षा अनुसार भव्यताका साथ सम्पन्न भएकोले दोस्रो संस्करण अझ उत्कृष्ट हुने विश्वास व्यक्त गरे।

टिप्पणी लेख्नुहोस्