भिक्टर ग्योकेरेस आर्सनल जाँदै, ऐतिहासिक नम्बर १४ जर्सी पाउने पक्का
लण्डन, साउन ९
इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनल र पोर्चुगलको स्पोर्टिङ सीपी बीच स्विडिस स्ट्राइकर भिक्टर ग्योकेरेस को ट्रान्सफर सम्बन्धी पूर्ण सहमति भएको छ। उनले अब आर्सनलका लागि खेल्ने निश्चित भएको छ।
ट्रान्सफरको रकम झण्डै €६३.५ मिलियन (झण्डै ९ अर्ब नेपाली रुपैयाँ) तोकिएको छ भने €१० मिलियन सम्मका थप बोनस पनि सर्तसहित हुने बताइएको छ। ग्योकेरेस अब छिट्टै लण्डन आएर स्वास्थ्य परीक्षण (मेडिकल) पूरा गरेपछि टोलीमा औपचारिक रूपमा सामेल हुनेछन्।
विशेष कुरा के भने, उनी आर्सनलको ऐतिहासिक नम्बर १४ जर्सी लगाउने पक्का भएको छ। यही जर्सी क्लबका महान स्ट्राइकर थियरी हेनरी ले लगाएका थिए। हालसम्म उक्त नम्बर आर्सनलका युवा खेलाडी एडी एनकेटिया ले लगाउँदै आएका थिए।
गएको सिजनमा आर्सनल टाइटल होडमा रहेपनि गोल स्कोरिङ्गमा निरन्तरता नदेखिएको कारण स्ट्राइकरको आवश्यकता महसुस गरिएको थियो। ग्याब्रिएल जिसस र काई हाभर्ट्जको फर्म अस्थिर भएको अवस्थामा, क्लबले ग्योकेरेसलाई दीर्घकालीन समाधानको रूपमा हेरिरहेको छ।
अब ग्योकेरेसको आगमनसँगै आर्सनलको आक्रमण पंक्ति थप मजबुत हुने विश्वास गरिएको छ।

टिप्पणी लेख्नुहोस्