लेख विवरण

दक्षिण अफ्रिकी खेलाडी जोरिच भान शाल्कभाइकद्वारा यू–१९ एकदिवसीयमा क्रिकेटमा दोहोरो शतक प्रहार

दक्षिण अफ्रिकी खेलाडी जोरिच भान शाल्कभाइकद्वारा यू–१९ एकदिवसीयमा क्रिकेटमा दोहोरो शतक प्रहार

काठमाडौं, साउन १० गते
दक्षिण अफ्रिकाका किशोर क्रिकेट खेलाडी जोरिच भान शाल्कभाइक (Jorich Van Schalkwyk) ले जिम्बावेमा जारी त्रिकोणात्मक यू–१९ प्रतियोगितामा ऐतिहासिक प्रदर्शन गरेका छन्। १८ वर्षीय यो युवा ब्याट्सम्यानले जुलाई २५ मा जिम्बावेविरुद्धको खेलमा २१५ रनको विस्फोटक पारी खेलेर पुरुष यू–१९ एकदिवसीय क्रिकेटमा अहिलेसम्मकै उच्च व्यक्तिगत स्कोर बनाएका छन्।

यसअघि सन् २०१८ मा श्रीलंकाका हसिथा बोयागोडाले बनाएको १९१ रनको कीर्तिमान उनले तोडेका हुन्।

भान शाल्कभाइकले दक्षिण अफ्रिका यू–१९ का लागि ओपनिङ गर्दै दोस्रो ओभरमै तीन चौका प्रहार गर्दै आक्रामक सुरुवात गरे। टिमले पहिलो १० ओभरभित्र दुई विकेट गुमाए पनि उनले आफ्नो ब्याटिङको लय नछाडी ४८ बलमा अर्धशतक पुरा गरे।

त्यसपछि उनले स्कोरिङ गतिमा तीव्रता ल्याउँदै ८६ बलमा शतक पुरा गरे। यो शतक प्रतियोगितामा उनको लगातार दोस्रो शतक हो। यसअघि उनले बंगलादेशविरुद्ध नटआउट १६४ रन बनाएका थिए।

बंगलादेशविरुद्धको उक्त खेलमा प्रकाश अभावका कारण खेल निर्धारित ५० ओभरभन्दा ३२ बल अगाडि नै रोकिएको थियो, जसले गर्दा उनी त्यो खेलमै दोहोरो शतक बनाउने सम्भावनाबाट चुक्नुपरेको थियो।

तर जिम्बावेविरुद्ध उनले त्यो अधुरो सपना पुरा गर्दै यू–१९ एकदिवसीयमा इतिहास रचेका छन्।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.