लेख विवरण

वात्सल्य एभरेस्ट महिला भलिबल लिग २०२५ मा पुनः १०० भन्दा बढी महिलालाई रोजगारी

वात्सल्य एभरेस्ट महिला भलिबल लिग २०२५ मा पुनः १०० भन्दा बढी महिलालाई रोजगारी

काठमाडौं,
खेलकुदमा महिलाको सशक्तिकरणतर्फको ऐतिहासिक कदमस्वरूप, वात्सल्य एभरेस्ट महिला भलिबल लिग (EWVL) ले दोस्रो पटक पनि १०० भन्दा बढी महिलाका लागि रोजगारी सिर्जना गर्दै नेपाल लगायत अन्तर्राष्ट्रिय खेलकुद जगतमा उदाहरणीय लिगको रूपमा आफूलाई स्थापित गरेको छ।

पहिलो संस्करणमा लिगले ७२ जना महिला खेलाडी, १५ जना व्यवस्थापन क्षेत्र, १० जना मिडिया, र ५ जना प्राविधिक क्षेत्रमा महिलाहरूलाई रोजगार दिइसकेको थियो। सन् २०२५ को दोस्रो संस्करणमा यो संख्या अझै बढाउने योजना बनाइएको लिगले जनाएको छ।

लिगको नेतृत्वमा नेपालकै पहिलो र कान्छी महिला स्पोर्ट्स लिग CEO स्नेभी चापागाईं नियुक्त भएसँगै लिगले सशक्त सन्देश दिएको छ। त्यस्तै, सुबिक्षा खड्का नेपालको खेलकुद इतिहासमै पहिलो महिला अक्सनियर बन्न सफल भइन्। उनले साउन ३ (जुलाई १८) मा EWVL द्वारा आयोजित नेपालकै पहिलो महिला भलिबल अक्सन संचालन गरिन्।

यी उपलब्धिहरूले लिगले लैङ्गिक समानता र समावेशी विकासमा प्रतिबद्धता जनाइरहेको प्रष्ट देखिन्छ। परम्परागत रूपमा पुरुषप्रधान रहँदै आएको खेलकुद प्रशासनलाई चुनौती दिँदै EWVL ले नेतृत्व, प्रसारण, मिडिया, लगिस्टिक, प्राविधिक व्यवस्थापनलगायत क्षेत्रहरूमा महिलाहरूको सशक्त उपस्थिति सुनिश्चित गरिरहेको छ।

लिगले आफूलाई जीवन्त राख्दै आएको नारा #अबपालोमहिलाकोलाई यथार्थमा रूपान्तरण गरिरहेको छ। नेपाल मात्रै होइन, विश्वभर खेलकुद नेतृत्वमा महिलाको न्यून सहभागिताका बीच EWVL ले महिलामैत्री खेल नवप्रवर्तनको नमुनाका रूपमा अन्तर्राष्ट्रिय चासो समेत बटुलिरहेको छ।

लिगको दायरा र प्रभाव निरन्तर फैलँदै जाँदा, यसले नेपाल तथा दक्षिण एसियाका हजारौं युवतीहरूका लागि नयाँ ढोका खोल्ने आशा गरिएको छ। यसले भविष्यमा खेलकुदमा अधिक समान, समावेशी र दिगो संरचना विकास गर्न मद्दत पुर्‍याउने विश्वास लिइएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.