नेपालमा 'फिफा फुटबल फर स्कुल्स' कार्यक्रम साउन १५ गतेबाट सुरु हुँदै
काठमाडौं, साउन १२ – फिफा फुटबल फर स्कुल्स (FIFA Football For Schools) कार्यक्रमको औपचारिक सुरुआत नेपालमा साउन १५ गते (जुलाई ३१, २०२५), दिउँसो १ बजे दशरथ रंगशालामा हुने भएको छ।
फिफाको विश्वव्यापी अभियान अन्तर्गत नेपालमा सञ्चालन हुन लागेको यो कार्यक्रमले देशभरका ७७ वटै जिल्लाका १,०७२ विद्यालयहरूमा पुग्नेछ। यस अभियानको माध्यमबाट ३२,६४० वटा फुटबल वितरण गरिनेछ, जसले बालबालिकामा फुटबलमार्फत शिक्षासँगै जीवन उपयोगी सीप विकासमा सहयोग गर्ने अपेक्षा गरिएको छ।
यस कार्यक्रमलाई नेपालको शैक्षिक तथा खेलकुद क्षेत्रमा एक ऐतिहासिक पाइलाका रूपमा हेरिएको छ। यसले ग्रासरुट स्तरमा फुटबललाई विद्यालय शिक्षासँग जोड्ने, समावेशी विकासको अवसर सिर्जना गर्ने र विद्यार्थीहरूमा अनुशासन, सहकार्य र नेतृत्वजस्ता गुण विकास गर्न टेवा पुर्याउने विश्वास व्यक्त गरिएको छ।
फिफा फुटबल फर स्कुल्स कार्यक्रम २०२५ को दोस्रो चरणमा नेपालमा कार्यान्वयन हुने मुलुकहरूमध्ये एक हो, जसले अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको फुटबल शिक्षामा योगदान पुर्याउने आशा गरिएको छ।

टिप्पणी लेख्नुहोस्