राष्ट्रिय महिला फुटबल टिमकी कप्तान साम्बा मकवानपुरमा सम्मानित, नगद ५० हजार प्रदान
मकवानपुर – १७ साउन २०८२ (अगस्ट २, २०२५)
मकवानपुरमा आयोजित ‘देश चिनाउने साम्बासँग हाम्रो चिनजान एवम् सम्मान’ कार्यक्रममा राष्ट्रिय महिला फुटबल टिमकी कप्तान साबित्रा भण्डारी (साम्बा) लाई सञ्चारिका समूह नेपाल, मकवानपुर शाखाले विशेष सम्मान प्रदान गरेको छ।
कार्यक्रमका दौरान साम्बालाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो। नेपाली महिला फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उल्लेखनीय योगदान पुर्याउँदै आएकी साम्बा हालसम्मकै सर्वाधिक गोलकर्तासमेत हुन्।
सञ्चारिका समूह मकवानपुर शाखाले साबित्राको नेतृत्व, मेहनत, र उपलब्धिलाई मूल्यांकन गर्दै भविष्यमा अझ प्रेरणादायी यात्राका लागि शुभकामना दिएको छ। कार्यक्रममा पत्रकार, समाजसेवी, खेलप्रेमी र युवा समूहको बाक्लो उपस्थिति रहेको थियो।
साम्बाले सम्मानपछि संक्षिप्त प्रतिक्रिया दिँदै भनिन्, “यो सम्मान मेरो लागि मात्र होइन, सम्पूर्ण नेपाली महिला फुटबल टोलीका लागि प्रेरणा हो।”

टिप्पणी लेख्नुहोस्