राष्ट्रिय टिम क्याम्पका चार उदाउँदा खेलाडी संकट एफसीमा आबद्ध
काठमाडौं, साउन १८ – नेपाली महिला फुटबलमा एउटा उत्साहजनक क्षण आएको छ। संकट फुटबल क्लबले आफ्नो महिला टोलीमा राष्ट्रिय टिम क्याम्पमा सहभागी चार उदाउँदा खेलाडीहरूको अनुबन्धन गरेको छ।
संकट एफसीका अनुसार, नयाँ अनुबन्ध भएका खेलाडीहरूमा भोजपुरकी अनिशा राई, नवलपरासीकी सेनु परियार, स्याङ्जाकी सुक्रिया मियाँ, र उदयपुरकी समिक्षा मगर रहेका छन्। यी सबै खेलाडी हाल नेपाली राष्ट्रिय महिला टिमको तयारी क्याम्पमा सहभागी छन्।
क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "उनीहरू जोश, उद्देश्य र गौरवका साथ संकट एफसीको रातो–सेतो जर्सीमा नयाँ अध्याय लेख्न तयार छन्। हामी उनीहरूको यात्रामा विश्वास गर्छौं र सँगै हुर्कने प्रतीक्षा गरिरहेका छौं।"
यस महत्वपूर्ण अनुबन्धलाई सफल बनाउन संकट एफसीका महासचिव श्री रमेश धोज बस्नेत, कोषाध्यक्ष श्री रवि बज्राचार्य, र सचिव श्री आशिष मान सिंह को नेतृत्व उल्लेखनीय रहेको क्लबले जनाएको छ।
हाल राष्ट्रिय टोलीसँग प्रशिक्षणरत रहेका यी खेलाडीहरूलाई क्लबले आगामी AFC महिला एशियन कप छनोटका लागि सफलताको शुभकामना समेत दिएको छ।
संकट एफसीले यो सुरुआत मात्र भएको बताउँदै चाँडै थप प्रतिभाशाली खेलाडीहरू पनि क्लबमा आबद्ध गराइने जानकारी दिएको छ।

टिप्पणी लेख्नुहोस्