एसियन कुराश च्याम्पियनसिपमा प्रशान्तलाई कांस्य
काठमाडौं, साउन १८ गते ।
नेपाली खेलाडी प्रशान्त राईले एसियन कुराश च्याम्पियनसिप २०२५ मा कास्य पदक जितेका छन् । दक्षिण कोरियाको चेओङ्जु सहरमा जारी प्रतियोगितामा शनिबार प्रशान्तले जुनियर पुरुष ४२ केजीमुनि तौलसमूहमा कांस्य जितेको नेपाल कुराश संघले जनाएको छ । प्रशान्त सेमिफाइनल उज्वेकिस्तानका खेलाडीसँग पराजित भएपछि कांस्यमा सीमित भए ।
एसियाली कुराश महासंघको आयोजनामा जुलाइ ३० तारिखदेखि सुरु भइ अगष्ट ५ तारिखसम्म चल्ने प्रतियोगितामा प्रशान्तको स्पर्धामा भारत, तुर्कमेनिस्तान, मङ्गोलिया, चीन (ताइपेईं), कुवेतका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
नेपालबाट २ खेलाडी सहभागी छन् । नामशाङ सामसोङ जुनियर पुरुष ५२ केजीमुनि प्रतिस्पर्धा गरेका थिए । एसियन कुराश च्याम्पियनसिपमा यो नेपालको दोस्रो पदक हो । यसअघि सन् २०१८ मा थाइल्यान्डमा भएको एसियन कुराश च्याम्पियनसिपमा कृति शर्माले ५२ केजीमुनि कास्य पदक जितेकी थिइन् ।
प्रतियोगिताका दौरान कुराश संघका कार्यवाहक अध्यक्ष जीवन राईले एसियन कुराश कंग्रेसमा पनि भाग लिएको कुराश संघले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्