एनपीएलका लागि मोन्टी देसाई पुनः काठमाडौंमा, काठमान्डु गोर्खाजसँग नयाँ भूमिकामा
काठमाडौं, साउन २२ । काठमान्डु गोर्खाजका मुख्य प्रशिक्षक मोन्टी देसाई बिहीबार नेपाल आइपुगेका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको शनिबार हुने अक्सनलाई लक्षित गर्दै मोन्टीको आगमन भएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मोन्टीलाई काठमान्डु गोर्खाजका प्रशिक्षक वसन्त शाही ठकुरी, कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहिया, र प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरीले स्वागत गरेका थिए।
६ महिनापछि काठमाडौं फर्किएका मोन्टी, यसअघि २०२३ को फेब्रुअरीदेखि दुई वर्षसम्म नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षकको भूमिकामा थिए। उनको प्रशिक्षणमा नेपालले विश्वकप लिग २ मा उत्कृष्ट प्रदर्शन गर्दै १२ खेलमध्ये ११ खेल जितेको थियो, जसले नेपाललाई सिधै २०२३ को एकदिवसीय विश्वकप छनोटमा पुर्याएको थियो।
त्यस्तै, मोन्टीकै प्रशिक्षणमा नेपालले पहिलो पटक एशिया कप खेलेको थियो भने १० वर्षपछि टि–२० विश्वकपमा पुनरागमन गरेको थियो।
मिडियासँग कुरा गर्दै मोन्टीले भने, “नेपालबाट म कहिल्यै टाढा थिइनँ, त्यसैले फेरि काठमाडौं आएको हुँ। यसपटक म फरक भूमिकामा आएको छु। गत वर्ष पनि म एनपीएलसँग जोडिएको थिएँ, तर अहिले काठमान्डु गोर्खाजको प्रस्तावपछि म निकै उत्साहित छु।”
काठमान्डु गोर्खाजको स्वामित्व काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चरमा रहेको छ। टिमको प्रशिक्षण टोलीमा मोन्टी देसाई र वसन्त शाहीसँगै टेक्निकल एनालिस्ट सुरज शाक्य र फिजियो पुरन तिरुवा रहेका छन्।
गोर्खाजले एनपीएलको पहिलो संस्करणबाट मार्की खेलाडी करण केसी सहित भीम सार्की, शाहब आलम, रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई ‘रिटेन’ गरिसकेको छ।
अब मोन्टीको नयाँ भूमिका कस्तो रहनेछ भन्ने जिज्ञासाका बीच, काठमान्डु गोर्खाजको प्रदर्शनप्रति सबैको ध्यान केन्द्रित हुँदै गएको छ।

टिप्पणी लेख्नुहोस्