एसियाली खेलकुदमा नेपालको सहभागिता संकटमा!
सरकार–एनओसी विवादले खेलाडीको सपना टुट्ने खतरा
विवादको छायाँमा ‘मिशन २०२६’
काठमाडौं – अर्को वर्ष जापानमा हुने २०औं एसियाली खेलकुदमा नेपालको सहभागिता नै संकटमा परेको छ। नेपाल सरकार र नेपाल ओलम्पिक कमिटी (एनओसी) बीच पछिल्लो वर्षदेखि चुलिएको विवादले राष्ट्रिय खेलाडीको वर्षौँको मेहनत पानीमा जान सक्ने अवस्था बनाएको हो।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै, चलिरहेको विवादका कारण ‘मिशन २०२६’ अन्तर्गतको विशेष प्रशिक्षण तथा नियमित तालिममा रहेका खेलाडीमा गहिरो अन्यौलता बढेको बताएका छन्।
“खेलाडीको मानसिकता कमजोर बनाउँदैछ”
श्रेष्ठका अनुसार, "खेलाडीको तयारीको बीचमै देखिने विवादले मानसिकता कमजोर बनाउँछ। यदि यथास्थितिमा विवाद रह्यो भने नेपालको एसियाली खेलकुदमा सहभागिता नै प्रश्नचिन्हमा पर्छ।"
जिम्मेवारी को ले लिने?
श्रेष्ठले वर्षौँको तयारीपछि पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने अवस्था सिर्जना भए जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठाएका छन्।
तत्काल पहलको आग्रह
सरकार र एनओसीबीचको दोषारोपणको संस्कार अन्त्य गरी खेलाडीको सपना बचाउन तुरुन्त पहल गर्न सबै पक्षलाई आग्रह गरिएको छ।

टिप्पणी लेख्नुहोस्