चितवन राइनोजद्धारा एनपीएल सिजन २ का लागि नयाँ हेड कोच, मेन्टर र टिम डाइरेक्टर घोषणा
काठमाडौं, साउन २३ – नेपाल प्रिमियर लिग (NPL) फ्रेन्चाइज टिम चितवन राइनोजले आगामी सिजन २ अघि नयाँ हेड कोच, मेन्टर र टिम डाइरेक्टर नियुक्त गरेको घोषणा गरेको छ।
हेड कोच – कलाम अली
पूर्व नेपाल इन्टरनेशनल क्रिकेटर कलाम अलीले सिजन २ का लागि हेड कोचको जिम्मेवारी सम्हाल्ने भएका छन्। एक दशकभन्दा बढी समय नेपाल राष्ट्रिय टिम, नेपाल–ए, महिला राष्ट्रिय टिम, बागमती प्रदेश र विभिन्न घरेलु फ्रेन्चाइज टिमहरूमा कोचिङ अनुभव बटुलेका अली गत सिजनमा चितवन राइनोजका बोलिङ कोच रहेका थिए। पूर्व फास्ट बलर अली अब टिमको सम्पूर्ण नेतृत्वको चुनौती स्वीकार गर्न तयार छन्।
मेन्टर – मनीष साखलकर
मुम्बई उमेरसमूह टोली र हरियाणाबाट रणजी ट्रफी खेलेका पूर्व फर्स्ट–क्लास क्रिकेटर मनीष साखलकर टिमका मेन्टर बनेका छन्। पारस म्हाम्ब्रे, अमोल मुझुमदार, अजीत आगरकर जस्ता चर्चित भारतीय क्रिकेटरहरूको पुस्ताबाट आएका उनी नेपालमा ग्रासरुट क्रिकेट विकासमा महत्वपूर्ण योगदान दिएका छन्। उनले नेपालका विभिन्न घरेलु लिग र क्रिकेट संघहरूमा कोच तथा सल्लाहकारको भूमिका निर्वाह गरिसकेका छन्।
टिम डाइरेक्टर – राजन शाह
सिभिल इन्जिनियरिङ स्नातक र चर्चित क्रिकेट विश्लेषक राजन शाह सिजन २ मा टिम डाइरेक्टरको रूपमा नियुक्त भएका छन्। “The man behind the laptop” भनेर चिनिने शाह नेपाल महिला राष्ट्रिय टिम, नेपाल–ए, र पुरुष U19 टोलीका प्रदर्शन विश्लेषक रहिसकेका छन्। ब्लगर, कमेन्टेटर, पत्रकार र क्रिकेट प्रशासकको रूपमा लामो अनुभव बोकेको शाहले अब दोहोरो भूमिकामा टिमको रणनीति र सञ्चालनलाई परिष्कृत गर्नेछन्।
नेतृत्वको प्रतिक्रिया
चितवन राइनोजका सीओओ डा. आशिष खड्काले भने, “नेपाल क्रिकेट भित्र र बाहिर परिचित व्यक्तिहरूको सेवा पाउनु हाम्रो लागि सौभाग्य हो। उनीहरूको विशेषज्ञता हाम्रो टिमलाई अझ सबल बनाउनेछ।”
त्यसैगरी टिमका अध्यक्ष आयुष न्यौपानेले भने, “गत वर्षका बोलिङ कोच र एनालिस्टले गरेको मेहनतको कदर गर्दै जिम्मेवारी बढाइएको हो। साथै, मनीष साखलकरजस्तो अनुभवी मेन्टरको थपले हाम्रो सपोर्ट स्टाफलाई बलियो बनाएको छ।”

टिप्पणी लेख्नुहोस्