लेख विवरण

पाकिस्तानलाई पराजित गर्दै वेस्टइन्डिजद्धारा सिरिज बराबरी

पाकिस्तानलाई पराजित गर्दै वेस्टइन्डिजद्धारा सिरिज बराबरी

तारुबा (त्रिनिडाड एण्ड टोबागो) – रोस्टन चेइस र जस्टिन ग्रिभ्सको उत्कृष्ट साझेदारीको बलमा वेस्टइन्डिजले पाकिस्तानलाई पाँच विकेटले हराउँदै तीन एकदिवसीय सिरिज १-१ को बराबरीमा ल्याएको छ। वर्षाले प्रभावित दोस्रो खेलमा वेस्टइन्डिजले १० बल बाँकी छँदै लक्ष्य पुरा गर्‍यो।

चेइसले ४७ बलमा नटआउट ४९ रन बनाए, जसमा दुई छक्का र विजयी चौका समावेश थियो। वेस्टइन्डिजले ३३.२ ओभरमा ५ विकेट गुमाउँदै १८४ रन जोड्यो। वर्षाका कारण DLS विधिमार्फत ३५ ओभरमा १८१ रनको लक्ष्य पाएको वेस्टइन्डिजले १८ ओभरमा १०१-३ को स्थितिबाट २४ ओभरमा १११-५ सम्म संघर्ष गर्नुपरेको थियो।

यसअघि, पाकिस्तानले पहिले ब्याट गर्दै ३७ ओभरमा ७ विकेटको क्षतिमा १७१ रन बनाएको थियो। दाहिने हातका तीब्र बलर जेयडन सिल्सले ७ ओभरमा ३ विकेट लिए। पाकिस्तानका लागि हसन नवाजले ३० बलमा नटआउट ३६ रन बनाए, जसमा तीन छक्का प्रहार गरे। उनले पहिलो खेलमा पनि नटआउट ६३ रन बनाएका थिए।

पाकिस्तानी कप्तान मोहम्‍मद रिजवानलाई गुदाकेश मोटीले ३८ बलमा १६ रनमा एलबिडब्ल्यू आउट गरे। हुसेन तलातले ३१ रन जोडे।

सिरिजको पहिलो खेलमा पाकिस्तानले वेस्टइन्डिजलाई पाँच विकेटले हराएको थियो। तेस्रो तथा अन्तिम एकदिवसीय खेल मंगलबार यही मैदानमा हुनेछ।

यसअघि, फ्लोरिडामा सम्पन्न टी-२० सिरिज पाकिस्तानले २-१ ले जितेको थियो।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.