लेख विवरण

फुटबल लिगको स्थगनबारे गहिरो चिन्ता, नेपाल फुटबल खेलाडी संघद्वारा एन्फालाई ज्ञापनपत्र

फुटबल लिगको स्थगनबारे गहिरो चिन्ता, नेपाल फुटबल खेलाडी संघद्वारा एन्फालाई ज्ञापनपत्र

काठमाडौं, साउन २७ –
नेपाल फुटबल खेलाडी संघ (NFLPA) ले नेपाली फुटबल लिगको निरन्तरता माग गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) समक्ष आज औपचारिक ज्ञापनपत्र बुझाएको छ। संघले लामो समयदेखि रोकिएको डिभिजन फुटबलको सुरुवातबारे गहिरो चिन्ता व्यक्त गर्दै तत्काल कदम चाल्न अनुरोध गरेको हो।

एन्फाका महासचिव किरण राईलाई बुझाइएको ज्ञापनपत्रमा खेलाडी संघले सहिद स्मारक ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिगहरूको महत्त्वलाई स्मरण गराउँदै दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि नयाँ सिजन सुरु नहुनु अत्यन्तै दुर्भाग्यपूर्ण रहेको उल्लेख गरिएको छ।

“निरन्तरको अन्यौलताले खेलाडीहरू र हाम्रो देश भित्रको फुटबल समुदाय दुवैमा गम्भीर र प्रत्यक्ष असर पारेको छ,” ज्ञापनपत्रमा भनिएको छ।

संघका अनुसार लिग अभावका कारण धेरै फुटबल खेलाडीहरू अनिश्चितता र आर्थिक संकटको सामना गरिरहेका छन्। प्रशिक्षक, रेफ्री र फुटबलसँग जोडिएका अन्य व्यक्तिहरू समेत प्रभावित बनेका छन्। यो अवस्थाले खेलाडीहरूको फिटनेस, प्रशिक्षण, र व्यावसायिक विकासमा गम्भीर असर पार्न थालेको भन्दै चिन्ता व्यक्त गरिएको छ।

“लिग फुटबल नभएको कारण धेरै प्रतिभाशाली खेलाडीहरू जीविकोपार्जनको खोजीमा देश छाड्न बाध्य भएका छन्। यसले राष्ट्रिय फुटबलको भविष्यमा दीर्घकालीन क्षति पुर्याउनेछ,” ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

खेलाडी संघले पछिल्लो पटक राष्ट्रिय टोलीको छनोट प्रक्रिया ट्रायलमार्फत गर्नुपरेको अवस्थालाई पनि उदाहरणका रूपमा प्रस्तुत गर्दै नियमित प्रतिस्पर्धात्मक लिग फुटबलको खाँचो औंल्याएको छ।

संघले एन्फालाई फुटबल लिगको घोषणा र आयोजनामा ढिलाइ नगरी चाँडो भन्दा चाँडो सबै श्रेणीका क्लबहरूसँग समन्वय गरेर क्यालेन्डर अनुसार काम अघि बढाउन आग्रह गरेको छ।

“हामी यो विषयलाई उच्च प्राथमिकता दिन र हाम्रो खेलको भविष्य सुरक्षित गर्न द्रुत कदम चाल्न एन्फा समक्ष पुनः अनुरोध गर्दछौं,” ज्ञापनपत्रमार्फत भनिएको छ।

संघले सकारात्मक प्रतिक्रिया आउने विश्वास व्यक्त गर्दै फुटबल लिगको पुनः सञ्चालनले खेलाडी मात्र होइन, सम्पूर्ण फुटबल संरचना नै स्थिर हुनेमा आशा व्यक्त गरेको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.