शुभमन गिल र सोफिया डङ्क्ली जुलाई महिनाका आइसीसी प्लेयर अफ द मन्थ घोषित
काठमाडौं, साउन २७ –
भारतीय कप्तान शुभमन गिल र इंग्ल्यान्डकी ब्याटर सोफिया डङ्क्ली जुलाई २०२५ का लागि आईसीसी प्लेयर अफ द मन्थ घोषित भएका छन्।
विश्वभरका क्रिकेट फ्यान र विज्ञ निर्णायकहरूको संयुक्त मतको आधारमा उनीहरूलाई छनोट गरिएको हो।
चार पटक अवार्ड जित्ने पहिलो पुरुष खेलाडी
गिल यो अवार्ड चार पटक जित्ने पहिलो पुरुष क्रिकेटर बनेका छन्। जुलाईमा इंग्ल्यान्डविरुद्धको तीन टेस्ट सिरिजमा उनले ९४.५० को औसतमा ५६७ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरे। बर्मिङहममा भएको दोस्रो टेस्टमा उनले २६९ र १६१ रनको इनिङ्स खेल्दै टेस्टमा दोस्रो सर्वाधिक रनको कीर्तिमान समेत बनाए।
त्यस्तै, म्यानचेस्टरमा चौथो टेस्टको दोस्रो इनिङ्समा उनको १०३ रनको योगदानले भारतलाई खेल ड्र गराउन सहयोग पुर्यायो।
उनका प्रतिस्पर्धी इंग्ल्यान्डका कप्तान बेन स्टोक्स र दक्षिण अफ्रिकाका वियान मुल्डर थिए।
गिलले भने, "मेरो कप्तानीमा भएको पहिलो टेस्ट सिरिजमा प्रदर्शनका लागि यो अवार्ड पाउनु गर्वको विषय हो। बर्मिङहमको डबल सेन्चुरी सधैं सम्झना रहनेछ।"
महिला तर्फ इंग्ल्यान्डकी सोफिया डङ्क्लीले भारतविरुद्धको घरेलु सिरिजमा तीन ODI र चार T20I खेल्दै २६९ रन बनाइन्। उनले पहिलो ODI मा ८३ रन (९२ बल) बनाउँदै शानदार प्रदर्शन गरेकी थिइन्।
उनले इंग्ल्यान्डकी सोफी एक्लेस्टोन र आयरल्याण्डकी कप्तान ग्याबी लुइसलाई पछि पार्दै अवार्ड जितेकी हुन्।
डङ्क्लीले भनिन्, "भारतविरुद्धको प्रतिस्पर्धात्मक सिरिजपछि यो अवार्ड जित्न पाउनु विशेष हो। विश्वकपको तयारीका लागि यो अनुभव उपयोगी हुनेछ।"

टिप्पणी लेख्नुहोस्