नेपाल ओलम्पिक कमिटीमा तदर्थ समिति गठन, ध्रुव बहादुर प्रधानको अध्यक्षतामा ९ सदस्यीय संरचना
काठमाडौं, साउन २६ –
नेपाल ओलम्पिक कमिटी (NOC) मा देखिएको नेतृत्व रिक्तताको दीर्घकालीन समाधानका लागि आज २३ वटा राष्ट्रिय खेल संघहरूका प्रतिनिधिहरूको संयुक्त भेलाले नौ सदस्यीय तदर्थ समिति गठन गरेको छ।
समितिको अध्यक्षतामा नेपाल ओलम्पिक कमिटीका निवर्तमान तथा मानार्थ अध्यक्ष माननीय ध्रुव बहादुर प्रधान चयन भएका छन्। उक्त समिति आजकै मितिबाट औपचारिक रूपमा कार्य सञ्चालनमा प्रवेश गरेको छ।
तदर्थ समितिलाई सक्रिय र परिणाममुखी बनाउन उक्त भेलाले एक कार्यादेश (Mandate) पनि जारी गरेको छ। समितिले निकट भविष्यमै कार्ययोजना र भावी कार्यक्रमहरू सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गर्ने जानकारी प्रवक्ता समिम मियाँ अन्सारीले दिएका छन्।
भेलामा सहभागी संघहरूका अध्यक्ष, महासचिव तथा पदाधिकारीहरूले ओलम्पिक सम्बन्धी आगामी कार्यक्रमहरूमा नेपालको प्रभावकारी सहभागिता सुनिश्चित गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल गतिविधिको निरन्तरताका लागि समस्याको दिगो समाधान आवश्यक रहेको धारणा राखेका थिए।
“खेलाडीहरूको भविष्य सुरक्षित गर्दै नेपालको ओलम्पिक गतिविधिलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यले तदर्थ समिति गठन गरिएको हो,” अन्सारीले बताए।
समितिले विशेषतः ओलम्पिक कार्यक्रम अन्तर्गतका बृहत खेलकुद प्रतियोगिताहरूमा नेपाली खेलाडीहरूको सहभागिता सुनिश्चित गर्नु, खेल संघहरूको अन्तर्राष्ट्रिय क्रियाकलापमा निरन्तरता ल्याउनु, र नेपाल ओलम्पिक कमिटीलाई स्थायी संरचनातर्फ लैजानु लगायतका लक्ष्यमा काम गर्नेछ।

टिप्पणी लेख्नुहोस्