लेख विवरण

नेपाल ओलम्पिक कमिटीको नाममा तदर्थ समिति गठनको प्रचारप्रति गम्भीर आपत्ति

नेपाल ओलम्पिक कमिटीको नाममा तदर्थ समिति गठनको प्रचारप्रति गम्भीर आपत्ति

काठमाडौं, साउन २८नेपाल ओलम्पिक कमिटी (NOC) ले हालै २०८२ साल साउन २७ गते जारी गरिएको एक प्रेस विज्ञप्तिमा उल्लेख गरिएको "नेपाल ओलम्पिक कमिटीको तदर्थ समिति गठन" सम्बन्धी विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेपाल ओलम्पिक कमिटीका महासचिव राजिव श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, “नेपाल सरकार अन्तर्गत राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा दर्ता भई, आवधिक निर्वाचनबाट चुनिएको अध्यक्ष श्री जीवनराम श्रेष्ठ र महासचिव श्री राजिव श्रेष्ठ रहेको वर्तमान नेपाल ओलम्पिक कमिटी नै नेपालको एक मात्र अधिकारिक ओलम्पिक निकाय हो।”

विज्ञप्तिमा नेपाल ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (IOC), ओलम्पिक काउन्सिल अफ एशिया (OCA)ANOC (Association of National Olympic Committees) बाट प्राप्त मान्यताको उल्लेख गर्दै, ती संस्थाहरूको विधानअनुसार पनि एक देशमा एक मात्र ओलम्पिक कमिटी मान्य हुने स्पष्ट व्यवस्था रहेको जनाएको छ।

अनाधिकृत समूहमार्फत तदर्थ समिति गठन अस्वीकार्य

विज्ञप्तिमा भनिएको छ, “कुनै पनि अनाधिकृत समूह वा व्यक्तिको भेलाले तदर्थ समिति गठन गर्नु पूर्णतः अवैधानिक हो। यस किसिमको अभ्यासले नेपालको ओलम्पिक खेल क्षेत्रलाई भ्रमित बनाउने खतरा हुन्छ।”

नेपाल ओलम्पिक कमिटीको अधिकारिक लेटरहेड, ओलम्पिक रिङ्ग, लोगो तथा झण्डाको अनधिकृत प्रयोगप्रति पनि आपत्ति जनाउँदै, ती सबै IOC को सम्पत्ति भएको र तिनीहरूको प्रयोग केवल मान्यता प्राप्त NOC-Nepal ले मात्र गर्न पाउने प्रष्ट पारिएको छ।

खेलाडी र संघहरूलाई भ्रममा नपर्न आग्रह

विज्ञप्तिमा सबै खेल संघहरू, खेलाडीहरू, प्रशिक्षकहरू र खेलकुद प्रेमीहरूलाई कुनै पनि भ्रममा नपर्न र अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त, अधिकारिक नेपाल ओलम्पिक कमिटी सँग मात्र सहकार्य गर्न अनुरोध गरिएको छ।

“नेपालको ओलम्पिक गतिविधि तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता सुनिश्चित गर्ने जिम्मा यही कमिटीले अहिलेसम्म निभाउँदै आएको छ र भविष्यमा पनि यही आधिकारिक संस्थाले मात्र खेलाडीहरूको अधिकारको रक्षा गर्नेछ,” विज्ञप्तिमा उल्लेख छ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.