काठमाडौं, भदौ ३० –
अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनेल मेस्सीको बहुप्रतीक्षित भारत भ्रमणलाई अन्ततः आधिकारिक अनुमति मिलेको छ। मेस्सीको ‘ग्रेटेस्ट अफ अल टाइम (GOAT) टूर’ यस वर्षको डिसेम्बर १२ देखि कोलकाताबाट सुरु हुनेछ।
यो यात्रा १५ डिसेम्बरमा प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटका साथ समाप्त हुनेछ। मेस्सीले भारत भ्रमणको क्रममा कोलकाता, अहमदाबाद, मुम्बई र दिल्लीका विभिन्न सांस्कृतिक, खेल तथा सामाजिक कार्यक्रमहरूमा भाग लिनेछन्।
मेस्सी १२ डिसेम्बरको राती कोलकाता पुग्नेछन् र त्यहाँ दुई दिन रहनेछन्। १३ डिसेम्बर बिहान 'मीट एन्ड ग्रीट', फूड एन्ड टी फेस्टिवल हुनेछ। मेस्सीलाई मनपर्ने अर्जेन्टिनी 'माटे' चियासँगै असाम चिया र बंगाली खानाको फ्युजन पस्किने तयारी गरिएको छ।
कोलकातामै मेस्सीको अहिलेसम्मकै सबैभन्दा ठूलो शालिक (स्टैच्यू) सार्वजनिक गरिनेछ। त्यसपछि एक GOAT कन्सर्ट र ७ खेलाडीको फुटबल प्रदर्शनी खेल हुनेछ, जसमा मेस्सीसँगै सौरभ गांगुली, लिएंडर पेस, जॉन अब्राहम र बाइचुङ भूटिया खेल्नेछन्।
भ्रमणका क्रममै एक २५ फिट अग्लो र २० फिट चौडो म्युरल (चित्रकलायुक्त पर्खाल) बनाइनेछ, जसमा फ्यानहरूले सन्देश लेख्न सक्नेछन्। यो म्युरल अन्ततः मेस्सीलाई उपहारस्वरूप दिइनेछ।
१३ डिसेम्बर साँझ, मेस्सी अहमदाबादमा अडानी फाउन्डेशनको निजी कार्यक्रममा सहभागी हुनेछन्।
१४ डिसेम्बर, मुम्बईमा 'मीट एन्ड ग्रीट', वानखेड़े रंगशालामा GOAT कन्सर्ट र GOAT कप हुनेछ। यहाँ मेस्सीले शाहरुख खान, लिएंडर पेस र अन्य सेलिब्रिटीहरूसँग प्याडल खेल खेल्नेछन्।
यस्तै, सचिन तेंदुलकर, एमएस धोनी, रोहित शर्मा र बलिउड स्टार्स रणवीर सिंह, आमिर खान, टाइगर श्राफ पनि मेस्सीसँग ‘मास्टर ब्लास्टर्स मोमेन्ट’ कार्यक्रममा उपस्थित हुनेछन्।
मेस्सी १५ डिसेम्बरमा दिल्ली पुग्नेछन्, जहाँ उनले प्रधानमन्त्री मोदीसँग भेट गर्नेछन्। त्यसपछि फिरोजशाह कोटला रंगशालामा विराट कोहली र शुभमन गिलसँग मैत्रीपूर्ण फुटबल खेल र GOAT कन्सर्ट हुनेछ।
मेस्सीको भारत आगमनलाई लिएर सुरक्षा व्यवस्था उच्च स्तरको हुनेछ। आयोजकको भनाइ अनुसार, सबै इभेन्टहरू हाउसफुल हुने अपेक्षा गरिएको छ। कार्यक्रमहरूको टिकट मूल्य ३,५०० भारु रुपैयाँदेखि सुरु हुनेछ।
यो भ्रमण २०११ पछि पहिलोपटक मेस्सी भारत आउने अवसर हो। त्यो समय उनले अर्जेन्टिनाको टोलीसहित कोलकाताको साल्ट लेक स्टेडियममा भेनेजुएलाविरुद्ध मैत्रीपूर्ण खेल खेलेका थिए। यसपटकको भ्रमण भारतमा फुटबलको लोकप्रियता र उत्साहलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।
हाम्रो न्यूजलेटरको सदस्यता लिनुहोस्।
Don’t have an account? Register Now and enjoy all our benefits!
टिप्पणी लेख्नुहोस्