लेख विवरण

अष्ट्रेलियाका पूर्व कप्तान र महान खेलाडी बब सिम्पसनको निधन

अष्ट्रेलियाका पूर्व कप्तान र महान खेलाडी बब सिम्पसनको निधन

अष्ट्रेलियाली क्रिकेटको एक युगको अन्त्य, क्रिकेट अष्ट्रेलियाले दियो श्रद्धाञ्जली

नयाँ दिल्ली, अगस्ट १६। अष्ट्रेलियाली क्रिकेटका पूर्व कप्तान र महान खेलाडी बब सिम्पसनको ८९ वर्षको उमेरमा निधन भएको छ। शनिबार क्रिकेट अष्ट्रेलिया ले एक आधिकारिक विज्ञप्ति जारी गर्दै उनको निधनको पुष्टि गरेको हो। सिम्पसनले १९५७ देखि १९७८ सम्म अष्ट्रेलियाको प्रतिनिधित्व गर्दै ६२ टेस्ट र २ एकदिवसीय खेल खेलेका थिए।

क्रिकेट अष्ट्रेलियाका अध्यक्ष माइक बेयर्ड ले गहिरो दुःख व्यक्त गर्दै भने, "बब सिम्पसन अष्ट्रेलियाली क्रिकेटका महानतम व्यक्तित्वमध्ये एक थिए। जो-कोहीले पनि उनलाई मैदानमा खेल्दै देख्ने वा उनको ज्ञान र कौशलबाट लाभ उठाउने सौभाग्य पाए, आजको दिन उनीहरू सबैका लागि दुःखद छ।"

टेस्ट करियरमा प्रभावशाली प्रदर्शन

सन् १९५७ मा दक्षिण अफ्रिकाविरुद्ध टेस्ट डेब्यु गरेका सिम्पसनले आफ्नो टेस्ट करियरमा ४६.८१ को औसतले ४ हजार ८ सय ६९ रन बनाएका थिए। जसमा १० शतक२७ अर्धशतक सामेल छन्। सुरुमा उनले एक अलराउन्डर को रूपमा खेल थालेका थिए भने पछि सन् १९६० को दशकमा भरोसायोग्य ओपनर ब्याट्सम्यान को रूपमा स्थापित भए।

बलिङमा पनि अब्बल

ब्याटिङसँगै सिम्पसन लेग स्पिन बलिङमा पनि निपूर्ण थिए। उनले टेस्ट क्रिकेटमा ७१ विकेट लिएका थिए। भारतविरुद्धको अन्तिम टेस्ट म्याचमा उनले ८ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका थिए, जसमा एउटा इनिङ्समा ५ विकेट पनि लिएका थिए।

कप्तानका रूपमा योगदान

बब सिम्पसनले ३९ टेस्टमा अष्ट्रेलियाको कप्तानी गरेका थिए, जसमा १२ जित दर्ता गरेका थिए। उनले पहिलो पटक सन् १९६८ मा क्रिकेटबाट संन्यास लिएका थिए। तर सन् १९७७ मा ४१ वर्षको उमेरमा पुनः मैदानमा फर्किए। त्यो समय अष्ट्रेलियाका शीर्ष खेलाडीहरू वर्ल्ड सिरिज क्रिकेटतर्फ लागेका कारण राष्ट्रिय टिम संकटमा परेको थियो। सिम्पसनले त्यस समय भारत र वेस्टइन्डिजविरुद्ध टिमको नेतृत्व गरेका थिए।

श्रद्धाञ्जली

उनको निधनसँगै अष्ट्रेलियाली क्रिकेटमा एक युगको अन्त्य भएको छ। खेलप्रेमी, पूर्व खेलाडी तथा समकालीन क्रिकेट हस्तीहरूले सामाजिक सञ्जालमार्फत सिम्पसनप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.