थाइल्याण्डकी चर्चित भलिबल खेलाडी पट्राथिप सान्त्रकून ललितपुर क्विन्समा आबद्ध
काठमाडौं — थाइल्याण्डकी चर्चित भलिबल खेलाडी पट्राथिप सान्त्रकून दोस्रो संस्करणका लागि ललितपुर क्विन्स क्लबमा पुनः आबद्ध भएकी छिन्। एभरेष्ट महिला भलिबल लिग २०८२ को तयारीमा जुटिरहेको क्विन्स टोलीले उनलाई पुनः अनुबन्धित गर्दै उपाधि जित्ने लक्ष्य लिएको जनाएको छ।
गत संस्करणमा उपविजेता बन्ने क्रममा सान्त्रकूनको भूमिका निर्णायक रहेको थियो। उनले टिमको मुख्य आक्रमणकारीका रूपमा शानदार प्रदर्शन गरेकी थिइन्।
"अघिल्लो वर्ष हामी जितको नजिक पुग्दा पनि उपाधिबाट चुक्यौं, त्यो क्षण अझै मेरो मनमा ताजा छ। यसपटक त्यो गल्ती दोहोर्याउने छैनौं," सान्त्रकूनले भनिन्। "दर्शकले दिएको माया अद्भुत थियो। उपाधि नजित्दा त्यो मायाप्रति न्याय हुन सकेन। यसपालि त्यो माया उपाधिमा बदल्ने प्रयास गर्नेछौं।"
नेपालमा उनको यो दोस्रो भ्रमण हो। उनले क्लबको पुनः आह्वानप्रति आभार व्यक्त गर्दै भनिन्: "मलाई फेरि विश्वास गरेर बोलाउनु भएकोमा ललितपुर क्विन्स परिवारप्रति धन्यवाद। नेपाल र यहाँका दर्शकसँगको अनुभव मेरो लागि विशेष छ।"
ललितपुर क्विन्स क्लबले पनि सान्त्रकूनलाई पुनः अनुबन्ध गर्न पाउँदा टोली अझ आत्मविश्वासी र सशक्त भएको बताएको छ।
"निकै व्यस्त कार्यक्रमबीच पनि हाम्रो निमन्त्रणा स्वीकार गरी फेरि नेपाल आउन सहमत हुनु भएकोमा हामी उहाँप्रति आभारी छौं। उहाँको पुनः आगमनले हाम्रो टोलीमा नयाँ ऊर्जा थपिएको छ," क्लबद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग भदौ २० देखि २८ गतेसम्म आयोजना हुँदैछ। प्रतियोगितामा देशभरका प्रमुख क्लबहरूको सहभागिता रहने छ।

टिप्पणी लेख्नुहोस्