इन्जुरीपछि फर्किएका मेस्सीको गोलमा इन्टर मियामीको शानदार जित, एलए ग्यालेक्सीलाई ३–१ ले हरायो
मियामी — अर्जेन्टिनी स्टार लिओनेल मेस्सी चोटपछिको पुनरागमनमा गोल गर्दै आफ्नो टोली इन्टर मियामीलाई डिफेन्डिङ च्याम्पियन एलए ग्यालेक्सीमाथि ३–१ को रोमाञ्चक जित दिलाएका छन्। शनिबार राति भएको खेलमा मेस्सीले ८४औं मिनेटमा गोल गरे भने लुइस सुवारेजले ८९औं मिनेटमा अर्को गोल थप्दै मियामीको जित सुनिश्चित गरे।
३८ वर्षीय आठ पटकका बालोन डी’ओर विजेता मेस्सीले इन्टर मियामीका लागि पछिल्लो दुई खेल गुमाएका थिए। उनी अगस्ट २ मा मेक्सिकन क्लब नेकासाविरुद्धको लिग्स कप खेलमा ह्यामस्ट्रिङको चोट बोकेका थिए। मुख्य प्रशिक्षक जेभियर माश्चेरानो का अनुसार उनको चोट गम्भीर थिएन।
“चोट सामान्य थियो। तीनवटा राम्रो ट्रेनिङ सत्र पछि आज उनलाई ४५ मिनेट खेलाउने योजना बनाइएको थियो,” माश्चेरानोले भने।
मेस्सीले हालसम्म एमएलएसको यो सिजनमा १९ खेल खेल्दै १९ गोल र १० असिस्ट गरेका छन्। उनी पछिल्लो सिजनका एमएलएस MVP (Most Valuable Player) पनि हुन्।
इन्टर मियामी हाल अंक तालिकाको चौथो स्थानमा रहेको छ, शीर्षस्थानको फिलाडेल्फियासँग ६ अंकले पछाडि तर ३ खेल कम खेलेको अवस्थामा छ। टोलीले बुधबार लिग्स कपको क्वार्टरफाइनलमा टिग्रेससँग प्रतिस्पर्धा गर्नेछन्।

टिप्पणी लेख्नुहोस्